झापा : पत्रकार सुरेन्द्र भण्डारीको संयोजकत्वमा ‘अनलाइन पत्रकार मञ्च झापा’ गठन गरिएको छ ।

अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित र एकरूपता दिँदै सूचना प्रवाह गर्ने उद्देश्यका साथ बिर्तामोडमा शनिवार भएको भेलाले भण्डारीको संयोजकत्वमा ‘अनलाइन पत्रकार मञ्च झापा’ गठन गर्ने निर्णय गरेको हो ।

पूर्वाञ्चल दैनिकका सह-सम्पादक समेत रहेका भण्डारी नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्य समिति सदस्य हुन् ।

झापाका सबै अनलाइनहरूलाई एकताबद्ध बनाउँदै अगाडि बढ्ने उद्देश्यका साथ दुई महिना भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गर्दै भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिको सदस्यहरूमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यसमिति सदस्य लीलाराज झापाली सहित पत्रकार विनोद पाण्डे, नरेन्द्र ढकाल, उद्धव पुरी, राम प्रसाद निरौला, सन्तोष न्यौपाने, केशव चापागाईँ, राजन साम्पाङ, जनक न्यौपाने र मनोज तिवारी रहेका छन् ।

अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित गर्दै पत्रपत्रिका सरह अनलाइनलाई सञ्चार माध्यमलाई समेत लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइनु पर्ने, स्थानीय तहले एजेन्सी मार्फत उपलब्ध गराउने विज्ञापन झापाका सबै ‘अनलाइन मिडिया’लाई स्थानीय तहले नै समानुपातिक रूपमा वितरण गर्नु पर्ने भन्दै संयोजक भण्डारीले अनलाइन सञ्चार माध्यमलाई भरपर्दो र विश्वसनीय बनाउँदै सबै पत्रकारहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न मञ्चले भूमिका निर्वाह गर्ने बताए ।

संयोजक भण्डारीले मञ्चले आगामी दिनमा सबै क्षेत्र र भूगोल समेट्दै सबैले अपनत्व महसुस गर्ने गरी काम गर्ने बताएका छन् ।