धरान : धरान वडा १३ का युवाहरूको दुई समूहको ग्याङ फाइटमा खुकुरी प्रहार हुँदा ३ जना युवा घाइते भएका छन् ।

अमरहाट स्थित धरान-१३ को वडा कार्यालय अगाडी आज सोमवार बिहान १० बजेको समयमा ग्याङ फाइट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

ग्याङ फाइटमा खुकुरी प्रहार हुँदा घाइते भएकाहरूमा धरान-१३ का २० वर्षीय सुजन गुरुङ, २३ वर्षीय सत्य सुन्दर मुखिया, २० वर्षीय रोशन लिम्बू रहेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लले बताएका छन् ।

घाइतेहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते तिनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्न धरान-१३ का २८वर्षीय उत्तर राई पक्राउ परेका छन् । खुकुरी प्रहारमा संलग्न धरान-१३ का सञ्जय लिम्बू सहित धरान-१३ कै २४ वर्षीय नगेन बुढाथोकीको पहिचान भई खोजी कार्य तीव्र बनाइएको डिएसपी मल्लले बताए ।

उनका अनुसार घट्नाको विषयमा घाइते पीडित पक्षका अभिभावकहरूले अभद्र व्यवहारमा जाहेरी दिएका छन् । संलग्न व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरिने कारबाही अघि बढाइने छ । प्रहरीले घट्नामा संलग्न व्यक्तिहरूको साथबाट १ थान खुकुरी बरामद गरेको छ ।