धरान : धरानमा सामान्य तरकारी पसलेका रूपमा जीविकोपार्जन गर्ने मानिस देखिएका एक व्यक्तिलाई काठमाडौँमा लागुऔषध ब्राउन सुगर सहित पक्राउ गर्न प्रहरीले गोली प्रहार समेत गर्नु परेको छ ।

धरानमा तरकारी पसले देखिने विकास भगतको काठमाडौँमा देखिएको गतिविधि लागुऔषधको ग्याङस्टार भन्दा कम नभएकोले प्रहरीले उनलाई पक्राउ गर्न घुडामुनी गोली हान्नु परेको बताएको छ ।

भगत तरकारी व्यापारको निहुँमा नेपाल भारत सीमानाका जोगबनीबाट लागूऔषध ओसारपसार गर्ने गिरोह सञ्चालन गर्दै आएका व्यक्ति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भगत धरानमा लागूऔषध डिलरका रूपमा व्ल्याकलिस्टेड हुन ।

काठमाडौँमा आइतबार लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारी भगत लाई पक्रन गोली चलाएको हो । टोलीले एक महिना अघिदेखि भारतबाट लागूऔषध ल्याउने गिरोहको पिछा गरिरहेको थियो ।

सोही क्रममा भगतले आइतबार बिहान ८ बजे विराटनगरबाट काठमाडौँ आउन हवाई टिकट काटेको सूचना प्रहरीले पायो । लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार विमानस्थलबाट निस्किएपछि भगत विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिरको एक होटेलमा प्रवेश गरे ।

उनले त्यहाँ कसैलाई सामान हस्तान्तरण गर्न लागेका थिए । तर, तल्लो तलामै प्रहरीसँग घम्साघम्सी भयो । विकासले प्रहरीकै हतियार खोसेर प्रतिकार गर्न खोजे र प्रहरीलाई नै जोखिम हुने स्थिति भएपछि उनको घुँडामुनि गोली हानिएको हो ।

भगतको साथबाट १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ भने उनीको साथमा हतियार पनि हुने गरेको एसएसपी थपलियाले जानकारी दिए ।

पछिल्लो समय प्रहरीले धरानको विभिन्न स्थानबाट तीन थान पेस्तोल सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । लागूऔषध कारोबारमा संलग्न व्यक्तिले अवैध हातहतियार ओसार पसार समेत गराउने प्रहरीको आशङ्का सही साबित भएको छ ।

डिलरको रूपमा धरानमा लागूऔषध कारोबार गरेको खुलेको भए पनि भगत विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा अहिलेसम्म कुनै मुद्दा दर्ता नभएको प्रहरीले जनाएको छ ।