धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारी १७७ चिकित्सकहरूले राजीनामा दिएपछि अस्तव्यस्त स्वास्थ्य सेवा सुचारु गर्न धरानका राजनीतिक दलहरूले पदाधिकारीहरू सँग गर्ने भनिएको छलफल २ दिन ढिलो भएको छ ।

प्रतिष्ठानकै समस्या लिएर काठमाडौँ गएका पदाधिकारीहरू नफर्किएकाले उनीहरूसँग गरिने भनिएको छलफल पछि सरेको हो । तत्काल आन्दोलनकारी चिकित्सकहरू र पदाधिकारीहरू बिच वार्ता गराई सेवा सुचारु गर्न धरानका राजनीतिक दलहरूले पहल सुरु गरेका हुन ।

दलहरूले आइतबार आन्दोलनकारी पक्षसँग तत्काल उपयुक्त निकास खोजेर निशर्त स्वास्थ्य सेवा सुचारु गर्न आग्रह गर्दै छलफल गरेको थियो । उक्त छलफलले सोमवार पदाधिकारीहरू सँग छलफल गरी दुवै पक्षलाई वार्ता गराएर निकास निकाल्ने सहमति भएको थियो ।

तर प्रतिष्ठानका उपकुलपति सहित पदाधिकारीहरू काठमाण्डौबाट नफर्किएकाले छलफल २ दिन ढिला भएको जसपा धरान नगर अध्यक्ष ताजुब लिम्बुले बताए ।

उनका अनुसार प्रतिष्ठानका कामु उपकुलपछि डा.प्रह्लाद कार्की र रजिस्ट्रार प्रा.डा. सूर्य प्रसाद सङ्ग्रौला सम्भवतः आज मङ्गलवार साँझ सम्ममा धरान आइपुग्ने छन् । उनले भने ‘उहाँहरू आइपुगेपछि बुधवार बिहान पदाधिकारीसँग छलफल हुने सम्भावना छ ।’

पदाधिकारीहरू सँग छलफल राजनीतिक दलहरूले छलफल गरेपछि पदाधिकारी र आन्दोलनकारी पक्षसँग छलफल गराइने बताउँदै उनले भने ‘दुवै पक्ष बिच वार्ता मार्फत तत्काल स्वास्थ्य सेवा सुचारु गर्न निकास निकालिने छ ।’

यसअघि भएको छलफलमा आन्दोलनकारी पक्षबाट डा.प्रदीप आचार्यको नेतृत्वमा डा. समीर शाह, डा. मधुर बस्नेत, डा.रबिन लगायत आन्दोलनरत डाक्टरहरू उपस्थित थिए । उनीहरूले प्रतिष्ठानको गरिमा बचाउन राजनैतिक दलहरू गम्भीरतापूर्वक लाग्न आग्रह गरेका थिए ।

छलफलमा प्रमुख राजनीतिक दलका नेतृत्वहरूबाट नेपाली काँग्रेसका सभापति श्याम पोखरेल, एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जसपाका अध्यक्ष ताजुब लिम्बु र नेकपा एकीकृत समाजवादीका स्वर्णिमहाङ लिम्बू, रास्वपाका सचिव सुमन श्रेष्ठ सहभागी थिए ।