वराहक्षेत्र : बुधवार वराहक्षेत्र नगरपालिकाले प्रकाशपुर बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई तीव्र बनाउने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले प्रकाशपुर बजारमा अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमनको क्रममा प्रकाशपुर बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्यन सामाग्री बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट, घिउ, कस्मेटिकका सामाग्री सेम्पु, नगरपालिकाले प्रतिबन्ध गरेको कालो प्लास्टिक गरेर करिब १ लाख बरावरको सामाग्रीहरू फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । म्याद नाघेको सामाग्री फेला परेको पसल, दत्ता प्रक्रिया नगरी सञ्चालन भएका पसलहरूमा १५ सय देखि २५ हजारसम्म जरिमाना समेत गरिएको थियो ।

बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू लगायतका विषयमा अनुगमन टोलीलाई सक्रिय बनाइएको अनुगमन गरिएको अनुगमन समितिकी संयोजक नगर उप-प्रमुख नन्दकुमारी सुनुवारले बताइन् ।

उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लले बताए ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल, आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका कोषाध्यक्ष तुलसी श्रेष्ठ, उपभोक्ता मञ्चका प्रतिनिधि,नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।