धरान : नेवार समुदायका परिवारमा बालिकालाई आराध्य देवी तथा शक्तिको रूपमा पूजा आराधना गरिने संस्कार पहिलो पटक धरानमा सामूहिक कन्या पूजाको रूपमा गरिन सुरु भएको छ ।

नेवार परिवारमा जन्मिएको १ देखि ११ वर्ष सम्मकी बालिकालाई कन्या पूजा गर्ने प्रचलनलाई सामूहिक अनुष्ठान बनाउने सुरुआत गरिएको हो ।

धुलिखेल सेवा समाजको आयोजनामा मङ्गलवार धरानका नेवार परिवारहरूले सामूहिक कन्या पूजा गरेका हुन । समाजको सभा हलमा ४३ बालिकाको सामूहिक कन्या पूजा भएको छ । कन्या पूजा रजस्वला नभएकी, बेलविबाह नगरेकी बालिकाहरूको गरिन्छ ।

विशेषतः काभ्रेपलान्चोक बनेपाका नेवार समुदायमा कृष्ण जन्माष्टमीको तिथिमा कन्याहरूको पूजा गर्ने प्रचलन छ । धुलिखेलका नेवारहरूले भने तिहार सकिने बित्तिकै नवमी तिथिमा कन्या पूजा गर्दछन् । सोही प्रचलित संस्कारलाई सामूहिक गरिएको कन्या पूजाका संयोजक युगल कुमार श्रेष्ठले बताए ।

उनले भने ‘घरमा पूजा गर्दा दसैँ अगाडी नवमीको दिन ९ जना कन्या भेला गरेर मनाइने प्रचलन छ । सोही अनुसार संयुक्त पूजा गरिएको हो ।' सामूहिक कन्या पूजालाई निरन्तरता दिँदै प्रत्येक वर्ष धुलिखेल समाजले आयोजना गर्ने उनले बताए ।

उनका अनुसार सामूहिक रूपमा पूजा गर्दा विधि प्रक्रिया पुग्ने साथै व्यक्तिगत खर्च पनि कम र गरिब धनी एकै स्थलमा पूजा गरिने भएकाले सबैलाई समान अनुभव गर्ने पाइएको छ ।

कन्या पूजाबाट बालिकाहरू निरोगी रहने, परिवारमा सुख, शान्ति, समृद्धि छाउने जनविश्वास छ । पूजामा स्वारी र पुरी प्रसादको रूपमा बाँडिन्छ । अभिभावकले पैसा, छोकडा, काजु, चकलेट, बिस्कुट, चाउचाउ, फ्रुटी लगायतका खानेकुरा दिएर कन्या पूजा गर्ने प्रचलन छ।

Kanya-Puja-KapuriNews2