इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले पार्टीमा पुनर्जागरण आवश्यक रहेको बताएका छन्। बिपी कोइरालाले स्थापना गरेको पार्टी सोही गतिमा अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, 'बिपी कोइरालाको ढङ्गले पार्टी अगाडि बढाउन सकेनौँ भने दुर्घटना हुन्छ । काँग्रेसको जनाधार कमजोर बन्दै गएको छ । बिपीको जस्तो पार्टी बनाउन सके जनता आफै आकर्षित हुन्छन् ।'

नेपाली काँग्रेस मोरङ जिल्ला सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै डाक्टर रिजालले काँग्रेसले गुमाएको मत फिर्ता ल्याउन पार्टी पनि त्यही गतिमा अगाडि बढ्नुपर्ने धारणा राखे । अहिले सङ्घ देखि सबै प्रदेश र स्थानीय तहमा पनि काँग्रेसको नेतृत्व हुँदा काम गर्न सकेनौँ भने काँग्रेस कमजोर हुने बताए । सबैतिर काँग्रेसको सरकार हुँदा देशको र जनताको पक्षमा कसरी प्रयोग गर्छौ भनेर मुख्य कुरा भएको उनको भनाइ छ ।

"काँग्रेस कस्तुरी हो आफ्नो बास्ना चिन्नुपर्छ । काँग्रेसले संविधानसभा निर्वाचन देखि संविधान निर्माण सम्म देखाइएको छ । काँग्रेसले आफैलाई विश्वास गर्‍यो भने जनताले पत्याउँछ  । काँग्रेसले आत्मविश्वास गुमाएन भने जनताले काँग्रेसको पक्षमा आउँछन् । काँग्रेसले आत्मविश्वास गुमाउनु भएन," उनले थपे ।