इटहरी : उर्लाबारी आगलागीमा घाइते भएका हेमकुमार दाहालको मृत्यु भएको छ । काठमाडौँ बर्न अस्पतालमा उपचार भइरहेको अवस्थामा उर्लाबारी-७ का ४९ वर्षीय दाहालको बुधवार राति मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

गत कात्तिक २६ गते लक्ष्मीपूजाको रात उर्लाबारी-७ का दीपक कार्कीको सुन पसलमा भएको आगलागी निभाउन गएका ४ प्रहरी सहित २८ जना घाइते भएका थिए । ती मध्ये २५ जनालाई नेपाली सेनाको विमान मार्फत काठमाडौँ लगिएको थियो ।

अस्पतालको आइसियुमा राखिएका दाहालको राति ११ बजे मृत्यु भएको हो । उनको अनुहार घाँटी, छाती, दुवै हात र दुवै खुट्टामा गरी प्रायः शरीर पनि जलेको थियो । यसअघि उपचारकै क्रममा तपन पण्डितको मृत्यु भएको थियो । घट्नामा मृत्यु हुनेको सङ्ख्या २ भएको छ ।

बर्न अस्पतालमा २३ जना घाइतेहरूको उपचार भइरहेको छ । त्यस मध्ये ७ जना आइसियुमा छन् ।