धरान : नेपालका मगर जातिको सांस्कृतिक नृत्य हुर्रा नाचको उद्गमस्थल पूर्वी पहाडी भूमि हालको चौबिसे गाउँपालिका भएको दाबी गरिएको छ ।

धरानमा आज शनिवार आयोजित हुर्रा नाच प्रदर्शनका अवसरमा नेपाल मगर सङ्घका धरान उपमहानगर समितिका अध्यक्ष चित्र थापा मगरले उक्त दाबी गरेका हुन ।

उनले भने ‘हुर्रा नाचको उद्गमस्थल नेपालको पूर्वी पहाडी भूभाग मुढेबास हालको चौबिसे गाउँपालिका नै भएको मानिन्छ ।’

हुर्रा नाच विशेष गरी धनकुटाको दक्षिणी क्षेत्र चौबिसे र मोरङको लेटाङ केराबारी साबिक पाँचकन्या गाउँपालिका हाल धरान-६ पानवारी, धरान ४ र ५ वडाका मानिसहरूले रुचिका साथ नाच्ने प्रचलन रहेको उनले बताए ।

उनका अनुसार हुर्रा नाच मगर समुदायको नाच हो भनेर परिचित गराउन धरानमा नृत्य प्रदर्शनको आयोजना गरिएको हो । सामूहिक रूपमा नाचिने हुर्रा मगर सङ्घ धरान उपमहानगर समितिले आयोजना गरेको हो ।

धरान-१० स्थित सैनिक भवनमा भएको नृत्य प्रदर्शनमा धरानमा रहेका मगर समुदाय सहभागी थिए । स्थानीय मगर जातिलाई सांस्कृतिक रूपमा एकतावद्ध गर्दै युवा पुस्तामा संस्कृतिप्रति मोह बढाउन प्रदर्शन गरिएको अध्यक्ष मगरको भनाई छ । उनले भने ‘यसरी आयोजना गरिने सांस्कृतिक प्रदर्शनले हराउँदै गएको मौलिक नृत्यलाई पुस्ता हस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’

धरानका युवा पुस्तामा मगर संस्कार संस्कृतिको जोगर्ना गर्न संरक्षणका लागि प्रोत्साहित गर्दै छिमेकी गाउँपालिका सागुरीगढि वडा ७, लालीगुराँस सामुदायिक संस्थाका ३७ जना पाहुना टोली निमन्त्रणा गरेर युवा पुस्ता माझ हुर्रा प्रदर्शन गरिएको हो ।

देउसीको अवसर पारेर तिहारको अघिल्लो दिन देखि पूर्णिमाको अघिल्लो दिन भित्र सामूहिक हुर्रा नाच नाच्ने परम्परा छ । धरानमा मगर समुदायको जनसङ्ख्या कम भएकोले हुर्रा नाचलाई निरन्तरता दिँदै समुदाय बिच परिचित गर्न हुर्रा नाच गरिएको बताइएको छ ।hurra-dance-KapuriNews2