मानवीय जीवनमा विज्ञान र प्रविधिले ल्याएको तीव्र प्रतिस्पर्धाबाट अहिले सबै भन्दा बढी विद्यार्थी, किशोर, किशोरी, युवाहरू तनाव प्रभावित छन् । यति बेला सकारात्मक चिन्तन, व्यसन र तनाव मुक्तिको माध्यम पहिचान गर्न जरुरी छ ।

व्यक्तित्व विकास एवं चरित्र निर्माणको आधार राजयोग ध्यानको माध्यमबाट सकारात्मक चिन्तनका साथ जीवन जिउने कला, व्यसन र तनावबाट मुक्ति पाउन सकिने ब्रह्मकुमारी नानी मैयाँ श्रेष्ठले बताएकी छन् ।

धरान स्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आउँदो सोमवार भारतको माउण्टआबु स्थित अन्तर्राष्ट्रिय प्रजापिता ईश्वरीय विश्वविद्यालयका प्रसिद्ध उत्प्रेरक प्राध्यापक ई.वी. गिरिसबाट धरानका विद्यार्थीहरूलाई कलेजहरूमा उत्प्रेरक कक्षा सञ्चालन गर्ने भएको छ ।

सोही अवसरमा धरानका १०० समाजसेवीहरूलाई सम्मान गरिने कार्यक्रमका बारेमा जानकारी दिन शनिवार बिहान आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले तनाव मुक्ति अहिलेको सबै भन्दा पहिलो समस्या भएको बताइन् ।

पत्रकार सम्मेलनमा ब्रह्मकुमार सुनिल श्रेष्ठले विज्ञानले ल्याएको विश्वव्यापी परिवर्तनले युवा पुस्तामा प्रतिस्पर्धा सँगै तनाव बढाएको छ, परिवर्तनलाई सहज रूपमा जीवनोपयोगी बनाउन ज्ञानको प्रयोग जरुरी भएको र त्यो ज्ञान राजयोग ध्यान नै भएको बताए ।

ब्रह्मकुमारी राजयोग अन्तर्राष्ट्रिय मुख्यालयबाट ‘आऔँ हामी मिलेर बनाऔँ एक स्वर्णिम समाज’ विषयक अभियान लिएर एक टोली नेपाल आउने जानकारी दिइएको छ । टोलीले नेपालका विभिन्न सहरहरूमा सामाजिक, धार्मिक, शिक्षा, स्वास्थ्य, साहित्य, महिला सशक्तीकरण, खेलकुद, प्रकृतिको संरक्षणका उत्प्रेरक कार्यक्रम गर्नेछन् ।

धरानमा यहाँको सामाजिक क्षेत्रमा योगदान गर्दै आएका एक सय महानुभावलाई सम्मानित गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा ब्रह्मकुमारी रुपा कुमारीले स्वागत मन्तव्य राखेकी थिइन् । ब्रह्मकुमार शेरबहादुर थापा, शिव तुम्बाहाङफे सहित उपस्थित थिए ।

Bramha kumari rajyog 2