इटहरी : इटहरीका मेयर हेमकर्ण पौडेलले स्थानीय तहको न्यायिक समितिलाई सुदृढ र प्रभावकारी बनाउन स्थानीय तहको प्रहरीलाई हतियार आवश्यक भएको बताएका छन् ।

इटहरीमा बिहीबार सुनसरी जिल्लाभरका स्थानीय तहका न्यायिक समितिका प्रमुखबिच भएको छलफलमा प्रमुख अतिथि रहेका मेयर पौडेलले न्यायिक समितिको निर्देशन पालना गर्ने हतियार सहितको प्रहरी आवश्यक भएको बताएका हुन् ।

स्थानीय तहलाई कतिपय अवस्थामा दौडनुपर्छ भनेपनि खुट्टा बाँधेर दौडन लगाएजस्तो भएको बताए । ‘संविधान र ऐनका प्रावधानमा आधारित रहेर स्थानीय सरकारका अधिकार र जिम्मेवारीहरू अनुसार अघि बढ्न कानुन, नियम तथा विनियम बनाउने कुरामा अप्ठ्यारो छ,’ उनले भने । उनले अप्ठ्यारो फुकाउन तीनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक पर्ने बताए ।

‘समन्वय र सहकार्यका आधारमा ऐन-कानुनको कार्यान्वयन हेरेर तिनीहरूमा आवश्यक परिमार्जन पनि गर्नुपर्ने हुन्छ,’ उनले भने । 'अहिले हाम्रो न्यायिक समितिले निर्णय गरेको कुरा कार्यान्वयनमा झन्झटिलो अवस्था छ'- मेयर पौडेलले थपे । 'हाम्रो न्यायिक समितिको निर्णय कार्यान्वयनमा हाम्रै हतियार सहितको प्रहरी चाहियो'- उनले भने ।

सङ्घीय नेपालका तीन तहमध्ये नागरिकको सबभन्दा नजिक रही लोकतन्त्रको दरिलो जगका रूपमा र विकासको माध्यमका रूपमा स्थानीय तह रहेको हुन्छ , यद्यपि बाहिरबाट देखिएजस्तो नभएको नगरप्रमुख पौडेलले जिकिर गरे । उनले न्यायधीसहरूले त न्यायिक समितिलाई सौताजस्तो व्यवहार गर्ने गरेको टिप्पणी गरे ।

आफ्नो निर्णय कार्यान्वयन गराउन प्रहरी गुहार्दा माथिल्लो आदेश पर्खनु पर्ने बताउने गरेको बताउँदै मेयर पौडेलले पालिकाको प्रहरीलाई हतियार दिन सरकार सँग आग्रह गरेका हुन् । सो कार्यक्रममा इटहरी उपमहानगरपालिका उपप्रमुख सङ्गीता चौधरी, धरान उपप्रमुख आइन्द्रविक्रम बेघा लगायतले बोलेका थिए ।