विराटनगर : विराटनगर महानगरपालिकाले वडा-७ सातघुम्तीको कवाडी पसलमा आगलागीमा परेर मृत्यु भएका पीडित परिवारलाई १/१ लाख र घाइतेका परिवारलाई ५०/५० हजार रुपैयाँ राहत सहयोग प्रदान गर्ने भएको छ ।

मेयर नागेश कोइरालाले आज बिहीबार उक्त घोषणा गरेका हुन । उनले महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट खर्च हुने गरी ज्यान गुमाएका परिवारलाई जनही १/१ लाख रुपैयाँ त्यसैगरी घाइतेको उपचारका लागि जनही ५०/५० हजार रुपैयाँ प्रदान गर्ने बताएका छन् ।

सातघुम्तीमा दुखा मण्डलको कवाडी पसलमा बुधवार दिउँसो आगलागी हुँदा विराटनगर-६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भएको थियो । सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

आगलागीमा घाइते विराटनगर-६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रीता सरदार, ६५ वर्षीया सुनिता कामत र कटहरी-६ की ३० वर्षीया पिंकी कामतलाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट बुधवार साँझ काठमाडौँ लगिएकोमा सुनिता कामतको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाण्डौंबाट सुनिताको शव ल्याउने व्यवस्था महानगरपालिकाले मिलाएको छ । काठमाण्डौं लानका लागि आवश्यक अक्सिजनको व्यवस्थापन महानगरपालिकाले मिलाएको मेयर कोइरालाले बताए । उनले  घटनास्थलमा समयमै दमकल पुगेको बताए ।

यसैबिच, महानगरपालिकाले कवाडी व्यवसाय र गोदाम सहितको संवेदनशील व्यवसायलाई व्यवस्थित गर्ने जनाएको छ । मेयर कोइरालाले भने ‘भविष्यमा दुःख घटना नदोहोरियोस् भनेर महानगरपालिका गम्भीर भएको छ ।’

विपद्को पूर्व व्यवस्थापनका लागि महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कवाडी, गोदाम लगायत अन्य संवेदनशील व्यवसाय सञ्चालन गर्न अनुमति दिने महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।