विराटनगर : विराटनगर-७ सातघुम्ती स्थित कवाडी पसलमा भएको आगलागीमा परेर ३ जनाको मृत्यु भएको छ । घट्नामा गम्भीर घाइते भएका ३ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

मृत्यु भएकाहरूमा विराटनगर-६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीय सुशीला पासवान र ६४ वर्षीय सुनिता कामत छन् । आगलागीको घटना बुधवार दिउँसो २ बजे भएको थियो ।

प्रहरी अनुसार सुशीला पासवानको घटनास्थलमै मृत्यु भएको हो । मण्डलको उपचारको लागि अस्पताल लैजाने क्रममा र सुनिता कामतको कीर्तिपुर स्थित वर्न अस्पतालमा मृत्यु भएको हो ।

आगोमा परी घाइते भएका विराटनगर-६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीय रिता सरदार र कटहरी गाउँपालिका-६ की ३० वर्षीय पिङ्की कामतको काठमाडौँ कीर्तिपुर स्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूलाई नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा उपचारको लागि काठमाडौँ लगिएको हो । मोरङ जिल्ला प्रहरी अनुसार अचानक भएको आगलागी ६ वटा दमकल, स्थानिय बासी र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको हो । आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट करिब ४० लाख बरावरको क्षति भएको अनुमान गरिएको छ ।