धरान : मिराकल क्लबद्वारा आयोजित मिराकल थ्री वाइ थ्री महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आयोजक मिराकल क्लब र पोखराले चुमेको छ ।

धरान रङ्गशाला स्थित इनडोर बास्केटबल कोर्टमा शनिवार भएको प्रतियोगिताको फाइनल खेलमा पुरुष तर्फ आयोजक मिराकलले टावर टेम्पल कलेज बिर्तामोडलाई ८ दशमलव ७ अङ्कको अन्तरले पराजित गरेको थियो ।

महिला तर्फ पोखरा बास्केटबल टिमले रेड डेभिल्स धरानलाई १३ दशमलव ५ अङ्कले पराजित गर्दै उपाधि चुमेको छ ।

विजेता मिराकल र पोखराले नगद ७ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपबिजाते टावर टेम्पल र रेड डेभिल्सले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुष तर्फ मिराकल क्लबका पारुहाङ लिम्बू र महिला तर्फ पोखराका कुसुम गुरुङ घोषित भए ।

उनीहरूलाई प्रदेश मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, प्रदेश बास्केटबल सङ्घ उपाध्यक्ष रोशन राई, सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुबेदी, मिराकल अध्यक्ष योक राईले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा धरान, तरहरा, बिर्तामोड र पोखराका पुरुष तर्फ २४ र महिला तर्फ ११ टिमको सहभागिता थियो ।