इटहरी : इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरूलाई आज देखि दिवा खाजामा कार्यक्रम सुरु भएको छ । नेपालमै पहिलो पटक इटहरी उपमहानगरपालिकाले टेण्डर मार्फत मासु सहितको मेनुको खाजा खुवाउन थालेको हो ।

उपमहानगरपालिकाले आज देखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जङ्क फुड नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सुरु गरेको प्रमुख पौडेलले बताए ।

इटहरी क्षेत्र भित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई उपमहानगरपालिकाले तीन करोड भन्दा बढी खर्चेर दिवा खाजा प्रभावकारी बनाउन थालेको छ । विद्यालयमै पकाएर खुवाउनु पर्ने अनिवार्य नियम अनुसार ठेक्का लगाएर प्रभावकारी बनाउन थालेको हो ।

दिवा खाजा कार्यक्रमको आइतबार इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर नगरप्रमुख हेमकर्ण पौडेलले सुरुवात गरे ।

सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न सङ्घीय सरकारले बालदेखि पाँच कक्षासम्मका लागि दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो । इटहरी उपमहानगरले बालदेखि ६ कक्षासम्मका लागि विद्यालयमै पौष्टिक दिवा खाजा खुवाउने व्यवस्था मिलाइएको छ ।

दिवा खाजा कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षका लागि इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । तर, यो बजेट पर्याप्त नहुने हुँदा उपमहानगरपालिकाले थप तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरी कुल पाँच करोड ६५ लाख रुपैयाँमा टेण्डरमार्फत ठेक्का लगाएर प्रभावकारी बनाउन थालेको हो ।

‘हाम्रो खाजा खोसिएको थियो, फेरि इटहरी उपमहानगरपालिकाबाट दिन थालिएको छ,’ राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत प्रद्युम्न दाहालले खुसी हुँदै भने ।

जङ्क फुड नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजा पकाएरै खुवाउने निर्णय गरेकोमा थुप्रै चुनौती भए पनि सफल हुने र नेपालमै नौलो हुने नगरप्रमुख पौडेलको दाबी छ । उनले बालबालिकालाई पौष्टिक आहार खुवाउन नगरको योजना सफल भएको बताउँदै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सक्रिय भएर लाग्ने बताए । ‘इटहरी क्षेत्रको गुणस्तर बढाउन सुरुवात गर्न हामीले गरेका छौँ,’ उनले भने,

‘सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नकै लागि चालु आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता राखिएको छ।’ उनका अनुसार सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न अब सबै विद्यालयलाई सिसिटिभीबाट निगरानी गर्ने, शिक्षक-कर्मचारीको ई-हाजिरीलगायतलाई प्रभावकारी बनाउने उपमहानगरपालिकाको योजना छ ।

सो क्रममा अधिकतर विद्यालयमा विद्यालयमा पकाउने व्यवस्था भइसकेको र केहीमा बाँकी रहे पनि चाडै पूरा हुने हुँदा व्यवस्थापन पक्ष मजबुत बनाएर अघि बढ्ने खाजा व्यवस्थापनका जिम्मा लिएको एरिना टिफिनका समीर कार्कीले बताए । राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतले उपमहानगरपालिकाले थालेको दिवा खाजा कार्यक्रमले दिवा खाजामा एकरूपता ल्याएको बताए ।

दिवा खाजा कार्यक्रमबाट उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार २८ जना लाभान्वित हुनेछन् । दिवा खाजा कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरले बार अनुसारको मेन्यु बनाएर कार्यान्वयन थालेको छ।

यस्तो इटहरी उपमहानगरको मेन्यु

आइतबार प्रति विद्यार्थी दुई सय १० ग्रामको तीन किसिमका फलफूल खुवाउन थालिएको छ । सोमबार विद्यार्थीहरूलाई भुटेको अण्डा र चिउरा, मङ्गलवार मिक्स गेडागुडीसँगै चिउरा यस्तै, बुधवार चामलको खीर र तरकारी, बिहीबार दही, चिउरा र तरकारी खुवाउन थालिएको  छ । शुक्रवार खसी वा कुखुराको मासु र चिउरा खुवाउन थालिएको छ । साहाकारीका लागि भने मटर-पनिर र चिउरा खुवाउन थालिएको छ ।

itahari upamaha nagarpalika karyakram 2

itahari upamaha nagarpalika karyakram 3