दमक : लागूऔषध सम्बन्धी सचेतनाका छलफल सचेतनाका जति धेरै कुरा गरेपनि घरकै छोराछोरी लागूअ‍ौषध प्रयोगकर्ता छन् भने शान्ति नहुने बताउँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरोकारवालाहरूलाई मानवीय विकासका कुरामा पनि ध्यानाकर्षण गराएका छन् ।

दमकमा आज मङ्गलवार लागूअ‍ौषध नियन्त्रण, रोकथाम सम्बन्धी गोष्ठीमा उनले भने ‘प्रदेश सरकारसँग विकास निर्माणको लागि बजेट माग्दै आउने गरेका छन् तर मानवीय विकासको कुरा भने कसैले गरेको पाइएको छैन ।’

दमक नगरपालिकाले सुरु गरेको लागूअ‍ौषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान कार्यक्रममा उनले आमाबुवाले छोराछोरीले घर बाहिर के गर्दै छ भन्ने हेक्का राख्ने बेला आइसकेको बताए । बालबालिकालाई राम्रो संस्कार दिन सकिएन भने जस्तोसुकै राम्रो अङ्कको शैक्षिक प्रमाणपत्रले कुनै अर्थ नराख्ने बताए ।

मन्दिरमा, रेडक्रसमा र अन्य सामुदायिक ठाउँहरूमा बुढापाका मात्रै बस्ने गरेको दृष्टान्त दिँदै शेषपछि सम्पत्ति छोराछोरीलाई दिने तर संस्कार नदिने समाजको विकास हुनु चिन्ताको विषय भएको मुख्यमन्त्री कार्कीले बताए । बालबालिकालाई सामाजिक शिक्षा दिनु आवश्यक छ, शिक्षाको परिभाषा किताबी ज्ञानले मात्रै नहुने उनको भनाई थियो ।

जेसुकै र जुनसुकै काम प्रतिफल प्राप्तिको लागि गर्न सक्यौँ भने मात्रै कार्यक्रम उपलब्धिमूलक हुने बताउँदै मुख्यमन्त्रीले कार्यक्रमहरू गोष्ठी र सभामा मात्रै सीमित नगरी उपलब्धिमूलक बनाउने काम गर्न आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले पहिचानवादीले ढुङ्गा हान्छ भन्ने थाहा हुँदा हुँदै आफू लागूअ‍ौषध प्रयोगकर्तालाई सुधार्ने कार्य योजनामा सहभागी हुन झापा गएको बताए । उनले भने ‘लोकतन्त्रमा विरोध गर्नु स्वाभाविक हो । पहिचानवादीका लागि वार्ताको ढोका खुल्ला छ, हामी सबै समस्या लोकतान्त्रिक र वार्ताको माध्यमबाट समाधान हुनुपर्न भन्ने पक्षमा छौँ ।’

गोष्ठी दमकका मेयर राम थापाको सभापतित्वमा भएको थियो । अभियानकी उपाध्यक्ष रेगिना भट्टराई प्रसाईँले १५ लाख बजेटको अभियानका लागि प्रदेश सरकारबाट १० लाख विनियोजन भएको जानकारी दिइन् ।

प्रहरीमार्फत प्रयोगकर्ता पहिचान र नियन्त्रण गरी विपन्न परिवारकालाई उपचार गराउने र पाँच वर्षमा लागूअ‍ौषध मुक्त तथा स्वास्थ्य युवामैत्री नगर बनाउने अभियान रहेको उनको भनाइ छ । दमकमा सुधार गृह निर्माण गर्ने लक्ष्य सहित अभियान सुरु गरिएको हो ।

काँग्रेस नेता शेरबहादुर भट्टराईले कार्यक्रममा तामझाम सहित खर्च गर्ने तर बजेटको सदुपयोग लक्षित वर्ग सम्म नपुगे त्यसको अ‍ौचित्य नहुने बताए । नेकपा माओवादी प्रदेश कोषाध्यक्ष गगन पुरीले लागूअ‍ौषध रहित स्वास्थ्य समाज निर्माण लागूअ‍ौषध रहित दमक अभियान सुरु हुनु सकारात्मक भएको बताए ।

laghuaausad rahit samaj