धरान : जाजरकोटमा श्रमदान गरी भूकम्प पीडितहरूलाई अस्थायी आवास बनाइदिएर फर्किएका काँग्रेसका टोली संयोजक पूर्व मेयर तिलक राईले भूकम्पले शतप्रतिशत घरहरू ध्वस्त भएको तुलनामा मानवीय क्षति कम भएको उल्लेख गर्दै स्थानीयले बताएको एक रोचक किस्सा सुनाएका छन् ।

उनले भने ‘भूकम्प आएको राती सबै घर ढल्यो, भागाभाग मच्चियो तर घरका केटाकेटीहरू भने घरभित्र थिएनन्, उनीहरू बाहिर खेत, बारीका कान्लामा बसेर मोबाइल हेरी रहेका थिए ।’ मोबाइलले पनि धेरैको ज्यान जोगायो भन्ने पनि स्थानीयको भनाई सुनेका उनले बताएका हुन ।

धरानबाट गएर भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका भूकम्प पीडितहरूलाई श्रमदानबाट ६ वटा अस्थायी आवास निर्माण गरी फर्किएको टोलीलाई नेपाली काँग्रेस धरान नगर समितिले शनिवार आयोजना गरेको स्वागत र सम्मान कार्यक्रममा संयोजक राईले उक्त कुरा सुनाएका हुन ।

धरानबाट काँग्रेसको ६ सदस्यीय टोली गत मङ्सिर १९ गते पूर्व मेयर तिलक राईको नेतृत्वमा जाजरकोट प्रस्थान गरेको थियो । टोलीमा काँग्रेस सुनसरी-१ प्रदेश सभा-१ का सचिव राजेन्द्र राई, २ का सचिव विजय घिमिरे, नगर सदस्य वसन्त राई, तरुण दल नगर उपाध्यक्ष विक्रम तामाङ र वडा १७ का सचिव सूर्यकुमार सुनुवार थिए । उनीहरूलाई फुलमाला, खादा लगाएर सम्मान पत्र प्रदान गरी स्वागत सम्मान गरिएको हो ।

कार्यक्रममा भूकम्प पीडितहरूको अवस्थाका बारेमा सुनाउँदै संयोजक तिलक राईले परम्परागत रूपमा नदीको चिल्लो ढुङ्गामा माटोको जोडाइले बनेका ग्रामीण क्षेत्रका नब्बे प्रतिशत घरहरू ध्वस्त भएको बताए । उनले भने ‘अस्थायी आवास बनाउन पर्याप्त प्राविधिक टोलीहरू नपुगेकाले धेरै स्थानीय पीडितहरूले हाम्रो टोलीलाई आफ्नो घर पनि बनाइदिन आग्रह गर्दा गर्दै फर्कनु पर्‍यो ।’

दुई वटा अस्थायी आवास बनाउने सामाग्री, योजना लिएर गएको धरानको टोलीले त्यहाँको अवस्था देखेर एक सातामा ६ वटा घर बनाएर फर्किएको हो । टोलीले २ वटा घरको लागि लिएर गएको विद्युत् सामाग्रीलाई ४ वटा घरमा बिजुली जडान गरिदिने काम पनि गरेको छ । संयोजक राईका अनुसार जाजरकोटको भेरी नगरपालिका वडा १ रिम्ना विकट ठाउँमा रहेकाले टोली त्यहाँ पुग्दा गाउँलेहरू अचम्म मानेको अवस्थामा थिए ।

उनले भने ‘स्वाभाविक रूपमा भूकम्प पीडितहरूलाई राहत वितरण गर्न आएको जस्तो ठुलै आशा राखेको देखियो ।’ टोलीले वितरणका लागि लगेको कपडा वितरण गरेपछि गाउँलेले राहतको अनुभव गरे । तर, उनीहरूले टोलीले घर बनाइदिन्छ भन्ने कुरा पहिले पत्याएनन् ।

संयोजक राईले भने ‘हामीले बनाएको अस्थायी घर देखेपछि, धेरै पीडितहरू आएर हाम्रो घर पनि बनाई दिनु पर्‍यो भन्न थाले ।’ भएका स्थानीय सामाग्रीबाट सरकारी मापदण्ड भन्दा तल नझारी बरु साइज ठुलो बनाएर टोलीले बनाएका अस्थायी घरहरू सबै भन्दा उत्कृष्ट बनेकोमा स्थानीय जनप्रतिनिधि, अनुगमनकर्ताहरूले प्रशंसा गरेको उनले बताए ।

samman-news-kapuriNewsत्यहाँ पुग्ने कतिपय टोलीले रमाइलो गर्न आएको जस्तो पनि गरेका रहेछन् । गाउँका अगुवाहरूले त्यस्ता टोलीले गाउँका खशी, बोका काटेर खाइ पैसा समेत नदिई गएको बताए । उनीहरूले बनाएका अस्थायी घर लायकको नभएको उनीहरूले गुनासो गरेको पनि संयोजक राईले उल्लेख गरे । उनले भने ‘हाम्रो टोलीले धरानका राम्रो छवि र सन्देश छोडेर आएको छ ।’

कार्यक्रममा टोली सदस्य विजय घिमिरेले साताभरिको श्रमदानका प्रतिवेदन प्रस्तुत गर्दै सबै कार्य स्थानीय जनप्रतिनिधि, नेपाली काँग्रेसका जिल्ला, नगर र वडा सम्मका पदाधिकारीहरू सँग समन्वय गरी सम्पन्न गरिएको बताए । काँग्रेस टोलीले काम गरेको भेरी नगरपालिका वडा १ रिम्ना गाउँमा यातायातका लागि बाटो पुगे पनि निकै विकट ठाउँ रहेको बताए ।

स्वागत सम्मान गर्दै काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले जान आउन नै ४ दिन लाग्ने टाढा र विकट ठाउँमा पुगेर भूकम्प पीडितका लागि धरान काँग्रेसको टोलीले गरेको कार्य पार्टीको निर्देशनलाई अक्षरशः पालना गर्ने उदाहरणको रूपमा स्थापित भएको बताए ।

राम्रो कार्यको प्रशंसा र सम्मान गर्ने परिपाटी काँग्रेसमा बसाउन स्वागत र सम्मान कार्यक्रम राखिएको बताउँदै उनले भने ‘यसलाई राजनीतिक रूपमा लिइनु हुन्न, काँग्रेस कार्यकर्ता भएपछि समाजीक जुनसुकै काममा पनि तयार हुनुपर्छ भन्ने उदाहरण स्थापित गरेको छ ।’ काँग्रेस प्रदेश (क) सभापति अनिल श्रेष्ठले काँग्रेसको टोलीले गरेको कार्य उदाहरणीय भएको बताए । कार्यक्रमको सञ्चालन नगर सचिव हिमाल श्रेष्ठले गरेका थिए ।

सो अवसरमा पूर्व प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, जिल्ला सचिव माधव घिरिङ, सुनसरी-१ क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेश ख सभापति मुरारी भट्टराई, धरानका निर्वाचित काँग्रेस वडाध्यक्षहरू लगायत पार्टीका नगर समिति, क्षेत्रीय समितिका पदाधिकारी कार्यकर्ता उपस्थित थिए ।

congress-samman-news