विराटनगर : कोशी प्रदेश सरकारले बहिरा सेवाग्राहीहरूका लागि प्रदेश मातहतका सरकारी कार्यालय लगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभासे राख्ने व्यवस्था गर्ने भएको छ ।

प्रदेश सरकार मातहतका अस्पतालहरूमा राखेका दोभासेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालय लगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभासे राख्ने व्यवस्था गर्ने भएका हुन ।

मुख्यमन्त्री कार्कीलाई सोमवार राष्ट्रिय बहिरा महासङ्घले प्रदेश सरकार मातहतका अस्पतालहरूमा राखेका दोभासेलाई बहिरा महासङ्घ मातहत परिचालन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । मुख्यमन्त्रीले महासङ्घलाई कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालय लगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभासे राख्ने व्यवस्था गरिने प्रतिबद्धता जनाएका हुन् ।

प्रतिस्थापन विधेयक मार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेर मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले बहिराहरूको अभिभावकको भूमिका निर्वाह गरेको बताए ।

प्रदेश सरकारले नेपालको इतिहासमा नै स्वर्णिम हुने गरी बहिरा समुदायलाई लक्षित गरी दोभासेको व्यवस्था गरेकोमा महासङ्घका पदाधिकारीले मुख्यमन्त्री प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

मुख्यमन्त्री कार्कीले दोभासेहरूको पेसागत सीप विकासका लागि सरकारले काम गर्ने उल्लेख गर्दै नीति नियम बनाउँदा महासङ्घलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।