विराटनगर : रोजगारीको लागि उपयुक्त अवसरको खोजीमा रहेका युवाहरूका लागि स्विस कन्ट्याक, आसमान नेपालको साझेदारीमा कोशी प्रदेश सरकारले श्रम बजार सूचना प्रणाली, श्रम सञ्चार ‘स्टेप अप’ परियोजना सुरु गरेको छ ।

परियोजना युवाहरूलाई आफूले रोजेको काम खोज्नका साथै रोज्नका लागि निःशुल्क माध्यमको रूपमा सुरु गरिएको हो । यो प्रणाली प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको जिआईडिसि सँग लिङ्क भएकाले पनि डाटाहरू सुरक्षित रहेको बताइएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित परियोजनाको मुख्यमन्त्री केदार कार्कीले बुधवार विधिवत् प्रारम्भ गरेका छन् । परियोजनाले सुरुवातमा प्रदेशको विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाले साझेदारी गरेका छन् । प्रदेशका सबै पालिका समेट्ने गरी परियोजना सुरु गरिएको हो ।

एप्सबाट बेरोजगार युवाहरूलाई रोजगारीमा समेट्नका साथै स्थानीय स्तरमा हुने तालिमका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने छ । प्रणालीमा हालसम्म ३४ सय बढी संस्था तथा व्यक्ती दर्ता भएका छन् ।

प्रणालीमा दर्ता भएका ३ सय बढीले रोजगारीका लागि आवेदन दिएकामा ३१ जनाले रोजगारी प्राप्त गरिसकेको उल्लेख गर्दै उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले भने, ‘अब कसैले पनि काम गर्ने मान्छे रोजेर पाइने र खोजे अनुसार श्रमको अवसर पाइने भएको छ ।’

उनले परियोजनाले विश्वको श्रम बजारलाई समेत व्यवस्थित गर्न सक्ने विश्वास व्यक्त गर्दै मानिसको आवश्यकता अनुसार श्रममा लाग्न सक्ने र श्रम बजार जति फैलियो त्यति विकाशले गति लिने बताए ।

मुख्यमन्त्रीले भने, ‘हरेक विकसित मुलुकको श्रम बजार विश्वमा छ । मानिसले आवश्यकता अनुसारको श्रम गर्न पाउने व्यवस्था संविधानमा नै उल्लेख भएको अवस्थामा एकथरी मानिसहरू मानिस बिदेसिए देश सकियो भनेर भ्रम फैलाइरहेका छन् ।’

स्विस कन्ट्याकका प्रोजेक्ट अफिसर सागर चापागाईँले एप्सबाट बेरोजगार युवाहरूलाई रोजगारीमा समेट्नका साथै स्थानीय स्तरमा हुने तालिमका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने बताए । सामाजिक विकाश मन्त्रालयका सचिव वासुदेव दाहालको सभापतित्वमा भएको उद्घाटन समारोहमा सहकार्यका लागि कोशी प्रदेश सरकार स्विस कन्ट्याक र आसमान नेपालका बिच त्रिपक्षीय हस्ताक्षर समेत भएको थियो ।

Shram Sanchar 2