विराटनगर : अधिकांश सहकारीहरूले सर्वसाधारणको बचत रकम हिनामिना गरेको खबर फैलिरहेको बेला मोरङको जीवन विकास लघुवित्तले भने पेन्सन योजना रोकिएतापनि बचतकर्ताहरूलाई तोकिएको अवधिमा लाभ सहित बचत रकम वितरण गर्दै आएको छ ।

सोमवार रङ्गेली-४ चोप्राहाकी सुनिता मण्डललाई लघुवित्तले १ लाख रुपैयाँ भुक्तान गरेको छ । उक्त रकम उनले लघुवित्तको पेन्सन योजनाबाट पाएकी हुन् । उनले २०६५ दुई साता पिच्छे १ सय रुपैयाँ पेन्सन बचत गर्दै आएकी थिइन् ।

पेन्सन योजनाको तोकिएको अवधिमा सोमबार लघुवित्तबाट १ लाख रुपैयाँ पाएकी हुन् । लघुवित्त रङ्गेली शाखा प्रमुख खीरमती राजवंशीका अनुसार पेन्सन योजनामा सुनिताले १५ वर्षमा ३९ हजार रुपैयाँ जम्मा गरेकी थिइन् । लघुवित्तले ६१ हजार ब्याज थप गरेर १ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

उनका अनुसार पेन्सन बचतको अवधि पुरा भएपछि लघुवित्तको रङ्गेली शाखाबाट ३५ जनाले ३५ लाख रुपैयाँ भुक्तानी पाइसकेका छन् ।

धनपालनाथ गाउँपालिका-६ कालाबन्जारकी ७० वर्षीय सुखियादेवी सहनीले दुई वर्षअघि नातिनीको बिहे गर्दा धितोमा राखेको जग्गा पेन्सन योजनाको रकमले उकासिन । उनले गत भदौमा पेन्सन योजनाको एक लाख रुपैयाँ निकालेर लालपुर्जा उकासेकी हुन् ।

२० वर्षअघि सदस्य बनेकी उनले २०६५ सालमा पेन्सन योजनामा १ सय रुपैयाँ जम्मा गर्दै आएकी थिइन् । उनले भनिन्, ‘आज एकमुष्ट पैसा पाउँदा ठुलो दुःख टर्‍यो, डुबेको जग्गा जोगियो ।’

जीवन विकास लघुवित्त कर्सिया शाखा प्रमुख गायत्री पोखरेल भन्छिन्, ‘तोकिएका अवधि पुगेको १ लाख रुपैयाँ संस्थामै राखे सदस्यले मासिक एक हजार पाउँछन् ।’ पाँच लाखको योजना भए मासिक पाँच हजार पेन्सन पाउँछन्', उनले बताइन् ।

राष्ट्र बैङ्कले रोक लगाएपछि पेन्सन योजना २०७६ सालदेखि बन्द भएको छ । लघुवित्तका कार्यकारी अधिकृत संजयकुमार मण्डलले भने, ‘त्यसअघि खुलेका पेन्सन योजना नियमित रूपमा चलिरहेका छन् ।’ तोकिएको अवधिका भुक्तानी पनि भइरहेको उनले बताए ।

१५ वर्ष बचत गरेपछि पेन्सन पाउने योजनाबाट जीवनस्तर उकास्न योजना भएकोले राष्ट्र बैङ्कलाई रोक लगाउने निर्णय पुनर्विचार गर्न उनले आग्रह गरे । उनले भने, ‘राष्ट्र बैङ्कले नियमन गर्ने गरी पेन्सन योजना सुचारु गरिदिए ग्रामीण क्षेत्रका विपन्नहरूलाई  सहज हुन्छ ।’

pension bhuktani 2