धरान :  भेडेटारबाट धरान आउँदै गरेको मोटरसाइकलमा मङ्गलवार साँझ प्रहरीले गाँजा सहित धनकुटा हिलेका २२ वर्षीय तिलक रानामगरलाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार धनकुटाको साँगुरीगढी-६ भेडेटार चौकमा इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले को ३० प ४५१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक धनकुटा-१ हिलेका रानामगरलाई १ केजी गाँजा सहित पक्राउ गरेको हो ।

विराटनगरमा षडानन्द नगरपालिका-२ की २३ वर्षिया प्रतिमा राई र धरान-८ का २७ वर्षीय सचिन प्रधानलाई ब्राउसुगर सहित प्रहरीले पक्राउ गरेको छ । सचिनले हाँकेको स्कुटरमा प्रतिमा पछाडि बसेकी थिइन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ४० प २४३ नम्बरको स्कुटर चेकजाँच गर्दा ५२ मिलिग्राम ब्राउनसुगर बरामद भएपछि दुवैलाई पक्राउ गरिएको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरको अस्थायी प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले ५३ वर्षीय बल बहादुर कार्कीलाई १ केजी ६५० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।