धरान : नेवा: सांस्कृतिक मञ्चको आयोजनामा धरानमा नेवारी लोकनृत्य, बाँसुरी वादन र धिमेबजा प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता पुस २७ गते आयोजना गरिने भएको हो ।

प्रतियोगीताको तयारीका बारेमा जानकारी दिन हिजो बुधवार आयोजित पत्रकार सम्मेलनमा मञ्चकी अध्यक्ष ममता टमोटले जानकारी दिएकी हुन।

नेवा: देय दबूँ अध्यक्ष मनोहर शाक्यले धिमे बाजालाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिने बताए । उनले भने ‘अब हरेक नेवार समुदायको घर-घरमा हुने शुभ कार्यहरूमा बजाइने ब्याण्ड बाजा तथा नौमती बाजाको सट्टा आफ्नै धिमेबाजा बजाउन सन्देश दिन पनि प्रतियोगिता गर्न लागिएको हो ।’

प्रतियोगितामा १५० जनाले नृत्यले प्रस्तुत गर्नेछन् । प्रतियोगीतालाई रोमाञ्चक बनाउन गाईघाटबाट पनि सहभागी आउने बताइएको छ । लोकनृत्य प्रतियोगिता धे धे बल्ला १९ वर्ष अगाडि देखि सुरु भएको अध्यक्ष टमोटले बताइन् ।

धिमेबाजा, बाँसुरी वादन, लोक नृत्य दुई वर्ष अघि देखी चौक चौकमा प्रदर्शन गर्ने चलन रहेको उनले बताइन् । मुख्य आकर्षण ५ हजार वर्ष पुराना नेवार जातिको मौलिक चर्या नृत्य प्रदर्शन रहने बताइएको छ । चर्या देवी देवताको नृत्य मानिन्छ ।

प्रतियोगिताले धरानको जातीय सांस्कृतिक विविधता प्रचार प्रसार गरी धरानको पर्यटन विकासलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।