धरान : नेपालबाट भारततर्फ ८० केजी अवैध गाँजा लैजाँदै गर्दा धरान-११ का २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय रामबहादुर राई पक्राउ परेका छन् ।

उनीहरूलाई ट्याम्पोमा गाँजा भारततिर लैजाँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी राजगञ्ज सिनवारीको प्रहरी टोलीले देवानगंज गाउँपालिका-६ नहरचौकमा उनीहरूलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरी अनुसार सोमवार सवा २ बजे सुनसरीको देवानगंजؘ-६ नहर चौकमा राशिबाट भारततर्फ जाँदै गरेको को १ ह ५०९९ नम्बरको ट्याम्पोलाई रोकेर चेकजाँच गरिएको थियो ।

चेकजाँच गर्दा ट्याम्पोको पछाडि डिकी र सिलिङमा प्लास्टिकको १/१ किलोको पोका बनाई राखेको ८० वटा पोकामा गाँजा बरामद भएको हो । ट्याम्पो कुमारले चलाइरहेका थिए, रामबहादुर पछाडि बसेका थिए ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले सोमबार भारतको अररीया जोगबनी-११ धर्मशालाका २० वर्षीय विशाल पोदारलाई ३ ग्राम ११ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

प्रहरी अनुसार विराटनगर-१५ स्थित १ नम्बर ढाटमा भारतबाट नेपालतर्फ पैदल आउँदै पोदारको साथबाट उक्त परिमाणको ब्राउसुगर बरामद भएको हो । पोदारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।