धरान : पूर्वको प्रसिद्ध तीर्थस्थल ताप्लेजुङ स्थित मुक्कुमलुङ पाथीभरामा प्रस्तावित केबलकार निर्माण कार्यको विरोधमा सोमवार फुङलिङ बजारमा वृहत् र्‍याली प्रदर्शन गरिएको छ ।

केवलकार निर्माणका लागि मुक्कुमलुङ पाथीभरा क्षेत्रको जङ्गलका २० हजार दुर्लभ जातीका रुखहरू फडानी गर्दा पर्यावरणमा ठुलो असर पर्ने बताइएको छ । केबुलकारले त्यहाँका जैविक विविधता विनाश गर्ने, पुरातात्त्विक स्थलहरू नष्ट गर्ने दाबी गरिएको छ ।

पाथीभरा मुक्कुमलुङ दर्शन केबलकार प्रालिले १३ महिनाभित्रमा केबलकार निर्माण सम्पन्न गर्ने भन्दै बन फडानी गर्न अग्रसर भएपछि ‘नो केबुलकार’ आन्दोलन चर्किएको हो ।

मुक्कुमलुङ क्षेत्र लिम्बु याकथुङ समुदायको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिस्थलको संरक्षण आदिवासी सहित अन्य स्थानीय जनसमूहहरू गर्दै आएकोले त्यहाँ एक पक्षीय रूपमा केवलकार परियोजना लागु गर्नु नेपालको संविधान र अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप भएको आन्दोलनकारीहरूले बताएका छन् ।

हजारौँ प्रदर्शनकारीहरूले र्‍यालीमा ‘मुन्धुमीस्थलको माथि-माथि केबलकार कुदाउन पाँईदैन, राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाहिँदैन, प्रकृति पूजकहरू एक होऔँ’ नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, केवलकार निर्माण खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याकथुङ चुम्लुङ, प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान सङ्घ, पहिचानका लागि युवा समिति, मुक्कुमलुङ फासिङ तान्सेप चुम्भो सहितका संस्थाहरूले संयुत्तः रूपमा र्‍याली प्रदर्शन गरेको हो ।

र्‍यालीमा किरात याकथुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, थरगत संस्था अभियान समूहका नन्द कन्दङ्वा, पहिचान पक्षधर नेताहरू सहभागी थिए ।

cablecar birodh 2