धरान : धरान उपमहानगरपालिकामा खानेपानी अभावको विषय व्यापक भइरहेको अवस्थामा सङ्घीय सरकारको बजेट नीति तथा कार्यक्रमले बेवास्ता गरेको छ । मङ्गलवार अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेट नीति तथा कार्यक्रममा धरानको खानेपानी लगायत पूर्वाधारको क्षेत्र समेटिएन । 

कोशी प्रदेशमा अरुण कोरिडोर, तमोर कोरिडोर र मुन्दुम ट्रेलको आयोजना समेटिएको छ । विराटनगरको गिरिजा प्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको छ ।

धरानका मेयर हर्कराज राईले बारम्बार सङ्घीय सरकारलाई चेतावनी दिँदा पनि बजेटमा खानेपानीको सुनुवाइ भएन । यसअघि धरानबाट तमोर (मुलघाट) सुरुङ मार्ग निर्माण गर्ने बजेट नीति तथा कार्यक्रम आएपनि यसपटक धरानलाई सम्बोधन हुने कुनै कार्यक्रम छैन ।

सङ्घीय सरकारका विभिन्न मन्त्रीहरूलाई प्रत्यक्ष भेटेर धरानको समस्या बताएका मेयर राईको खानेपानीको मुद्दा ओझेलमा परेको छ । सङ्घीय सरकार मार्फत कोशीबाट लिफ्टीङ गरेर पानी ल्याउने मेयर योजना तत्काललाई तुहिएको हो ।

बजेटमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत कर्णाली, कोशी, राप्ती, भेरी, पाटन, नारायणी, भरतपुर र गजेन्द्रनारायण सिंह अस्पताललाई ५ सय शय्यामा स्तरोन्नति गर्ने उल्लेख छ । हाल बिपी प्रतिष्ठानमा ८५० शय्याको अस्पताल चालु अवस्थामा छ ।

नेपाल सरकारका अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठुलो बजेट ल्याएका हुन् । चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट आएको थियो ।

चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत विनियोजन भएको छ। वित्तीय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.७४ प्रतिशत हो ।

यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । अघिल्लो वर्ष ४ खर्ब ८ अर्ब रुपैयाँ हस्तान्तरण भएको थियो ।

राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड सङ्कलनको लक्ष्य राखेको सरकारले आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब सङ्कलन गर्ने लक्ष्य लिएको छ । वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने सरकारको योजना छ ।