धरान : सङ्घीय बजेटमा धरानको खानेपानीलाई मात्र पनि छुट्टै शीर्षकमा बजेट नराखिएपछि बढेको असन्तुष्टि थामथुम गर्न आज शुक्रवार खानेपानी मन्त्री राजेन्द्र राईले मेयर हर्क साम्पाङ, राजनीतिक दलका स्थानिय नेताहरू र एमाले कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् ।

उपमहानगरपालिकामा मेयर हर्क साम्पाङलाई भने, ‘सप्तकोशी योजनाको डिपिआर बमोजिम ५ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।’ मन्त्री राईले आर्थिक वर्ष ०८१/८२ मा टेन्डर हुने समेत बताए ।

साथै उनले कोशीबाट पानी ल्याउने योजना 'बहुवर्षे योजना' भएकोले पैसाको चिन्ता नगर्न आग्रह गरे । उनले मेयर साम्पाङलाई वडाहरूको डिपिआर बनाउने काम पुरा नभएको बताउँदै त्यो काम तत्काल पुरा गर्ने पनि बताए ।

अर्थमन्त्री वर्षमान पुनले संयुक्त संसदमा सङ्घीय प्रस्तुत गर्दा बजेट कोशीबाट धरान पानी ल्याउन ५ अर्ब रकम विनियोजन गरेको भने थिएनन् । उक्त रकम कोशीबाट धरान पानी ल्याउन अनुमानित लागत हो । मन्त्रीले भने बजेटमै छुट्याएको बताइदिए ।

बजेटमा नेपालभर खानेपानीका लागि २६ अर्ब रुपैयाँ मन्त्रालयको नाममा विनियोजन गरिएको छ । उक्त बजेटबाट मन्त्रालयको प्रशासनिक खर्च पनि हुन्छ । 

सोही रकमबाट 'बहुवर्षे योजना'को रूपमा कोशीबाट धरान पानी ल्याउने परियोजनाका लागि वार्षिक केही रकम छुट्याउने कुरा मन्त्री राईले मेयर साम्पाङलाई 'छोटकरी'मा बताएको बुझिन्छ ।

मन्त्री राईले मेयर साम्पाङसँगको भेटमा 'कोशी खानेपानी ल्याउने' कुरा सानो तिनो योजना भएको पनि बताए । उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाहरूको मात्र बजेट विनियोजन भएको छ, सानो तिनो आयोजना मन्त्रालय आफैले समाधान गर्छ ।’

पत्रकारहरूलाई पनि मन्त्री राईले उनको भनाई खुलाएनन् । उनले भने, ‘चकित हुने काम गर्छु, तपाईँहरू नै छक्क पर्नु हुन्छ होला, हरेक कुरामा शङ्का किन गर्नुहुन्छ, म जे बोल्यो त्यही गर्ने मान्छे हो ।’

मन्त्री राइलाई  मेयर हर्क साम्पाङले, 'खानेपानीको चरम अभाव छ, धरानमा जनता बाटोमा गाग्री र ड्रम बोकेर बसिरहेका छन् मन्त्री ज्यु' भन्दै समस्या उजागर गर्दे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

नेकपा एमाले कार्यालयमा धरानका राजनीतिक दलको स्थानिय नेताहरूले भने कोशी प्रोजेक्टको पानी भन्दा अघि जङ्गलमा डिप बोरिङ आवश्यक भएकोमा जोड दिए ।

तत्काल खानेपानी समस्या समाधान गर्न जङ्गलमा ८ देखि १० वटा डिप बोरिङ गरेर धरानको चरम खानेपानी समस्या हल गर्नु मन्त्री राईलाई धरानका प्रमुख राजनैतिक दलहरूले आग्रह गरेका छन् ।

माओवादीका धरान इन्चार्ज चोत्लुङले तत्काल ५ देखि १० अर्ब धरानमा खर्च गर्न नसक्ने अवस्था नभए तत्काल जङ्गलमा सतहको पानी डिप बोरिङ गरेर धराने जनतालाई पानी खुवाएर काकाकुल अवस्थाबाट बचाउनु पर्ने माग गरे ।

नेपाली काँग्रेस धरान सभापति श्याम पोख्रेलले राज्यले धरानको खानेपानीको समस्या समाधान गर्न तत्काल लगाउनु पर्ने । धरानका राजनैतिक दल लगायत स्वतन्त्रहरूको समेत खानेपानी चुनावी एजेन्डा मात्र बनाएर चुनाव जिते तर समस्या समाधान भएन ।

उनले भने, ‘मेयर सामपाङले हुलिया गरेको भरमा पानी आउँदैन दीर्घकालीन खानेपानी समस्या समाधान नहुने भएकाले तत्काल सरकारले खानेपानी समस्या समाधान गर्न जङ्गलबाटै डिप बोरिङ आवश्यक छ ।’

काँग्रेस धरान सचिव हिमाल श्रेष्ठ, एमाले नगर अध्यक्ष हर्क जङ्ग एभेङ, पूर्व सङ्घीय सांसद जय कुमार राई, प्रदेश नम्बर १ सभामुख प्रदीप भण्डारी, माओवादी धरान अध्यक्ष मनोज भट्टराई, नेता ताजुब लिम्बु लगायतले मन्त्रीलाई तत्काल समाधानका लागि सुझाव दिए ।

rajendra and harka khanepani news 2