धरान : धरान उपमहानगरपालिकाबाटै बिजुली, पानीको सबै सुविधा उपलब्ध गराएर २०६४ साल देखि बसोबास गर्दै आएको धरान-५ सुन्दर बस्तीका सुकुम्वासीहरू अहिले त्यहाँ बहुसांस्कृतिक पार्क बनाउने भन्दै उनीहरूलाई घरबास विहीन बनाउन लागेको भन्दै न्यायका लागि अदालत पुगेका छन् ।

पार्क बनाउने भनिए तापनि त्यहाँ करिब ४५ घरधुरी सुकुम्वासी परिवारको बसोबास छ । उनीहरूलाई विकल्प नदिई उठाइदा उनीहरू घरबास विहीन हुनेछन् ।

सुन्दरबस्तीमा बसोबास गर्दै आएका माथि आइपर्ने सङ्कटलाई रोकथाम गर्न धरान-५ का भर्तहाङ चेमजोङले निषेधाज्ञा समेतको माग गर्दै दायर गरेको रिटको सुनवाइ गर्दे सुनसरी जिल्ला अदालतका न्यायाधीश नरेन्द्र कुमार काल खेतीको इजलासले धरान उपमहानगरपालिका, टिएलओ, इलाका प्रशासन, इलाका प्रहरीको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

जेठ १७ गते दिएको आदेशमा भनिएको छ 'निवेदकलाई कानुन बमोजिम बाहेक नपक्रनु, नथुन्नु भनी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ तथा जिल्ला अदालत नियमावली २०७५ को नियम ३४ बमोजिम विपक्षीहरूलाई अन्तरिम आदेश दिएको आदेशको पालन यथाशीघ्र मार्फत विपक्षीलाई दिनु भनी २०८१ जेठ १७ गते आदेश दिइएको छ ।'

आदेशमा मुद्दाको सुनवाइका लागि इजालशले विपक्षीहरूलाई १५ दिन भित्र अदालतमा हाजिर हुन आदेश दिएको छ ।

आदेशमा भनिएको छ 'निवेदनको माग बमोजिम आदेश हुनु नपर्ने आधार, कारण र प्रमाण सहित विपक्षी धरान उपमहानगरपालिकाको कार्यालय धरान, नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) र टिएलो धरान-५ को हकमा आफै तथा कानुन बमोजिमको आफ्नो प्रतिनिधि तथा विपक्षी इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रशासन धरानको हकमा जिल्ला सरकारी वकिल मार्फत सबुद प्रमाण पेस सहित लिखित जवाफ पेस गरी अदालतमा हाजिर हुनु ।'

निवेदक चेमजेङको तर्फबाट अधिवक्ता पदम प्रसाद लिम्बुले बहसपछि न्यायाधीश काला खेतीको इजलाशले अन्तरिम आदेश जारी गरेको हो ।

निवेदक चेमजोङले जेठ १६ गते दिएको निवेदनमा धरान-५ स्थितको सुन्दर बस्तीमा २०६४ साल देखि बसोबास गर्दै आएको स्थानमा धरान पार्क निर्माण गर्ने भन्दै आज भोली नै घर टहरा भत्काउनु नत्र पक्राउ गरेर थुन्छौ भन्दै विभिन्न धम्कीपूर्ण भाषा प्रयोग गर्दै बल प्रयोग गर्नलाई नगर प्रहरी समेत परिचालित गरेकोले निषेधाज्ञाको माग गरेका थिए ।

Nisedhaagya