धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राणा शासनको बेला सनकको भरमा कर्मचारीसँग गर्ने व्यवहार गर्न थालेको वडा-१३ का अध्यक्ष नेत्र काफ्लेले आरोप लगाएका छन् ।

उक्त वडा कार्यालयका प्राविधिक कर्मचारी मेयर साम्पाङले बिना कारण सरुवा गर्ने, कामबाट निकाल्ने गरेपछि वडाध्यक्ष काफ्लेले मेयरको कार्यशैली निरङ्कुश बन्दै गएको बताएका हुन ।

मेयर साम्पाङले आफूले भनेको काम नमानेको भन्दै धरान १३ वडा कार्यालयका सहायक चौथो तहका अमिन श्यामकुमार यादव, असिसटेन्ट सवईञ्जिनियर सहायक चौथो तहका तेन्जिङ शेर्पालाई उपमहानगरपालिका कार्यालयमा सरुवा गरेको वडाध्यक्ष काफ्लेले बताए ।

उनीहरूलाई मेयर साम्पाङले कोशी प्रदेश सरकारको योजनामा सहयोग गरेको आशङ्कामा सरुवा गरिएको बुझिएको छ । वडाध्यक्ष काफ्लेले भने ‘कर्मचारीको केही गल्ती छैन, कोशी प्रदेशको बजेट हो, प्रदेशकै कर्मचारीबाटै नापजाँच भएको हो, वडाको २ जना कर्मचारीले कुनै काम गरेका छैनन् ।’

उनका अनुसार कोशी प्रदेश सिचाई कार्यालयबाट खहरे नियन्त्रण तथा तटबन्ध गर्न बजेट आएको र खहरेमा छेउबाट जनतालाई आवत जावत गर्न सजिलोका लागि १४ फुटे बाटोको निकास गर्न ४९ घरमध्ये ४८ घर सहमत भएका थिए ।

वडाध्यक्ष काफ्लेले भने ‘तर मेयर साम्पाङको 'झोले' भारती राईको कुरा सुनेर मेयर साम्पाङले कार्य रोक्न खाजेका थिए ।’ त्यही निहुँमा वडाको प्राविधिक कर्मचारीलाई सरुवा गरिएको उनको भनाई छ ।

मेयर साम्पाङले कुनै लिखित निर्देशन नभए सम्म धरान उपमहानगरपालिका कार्यालयमा हाजिर भई कार्य यसै कार्यालय अन्तर्गत रही कामकाज गर्न निर्देशन दिँदै वडा कार्यालयका प्राविधिक कर्मचारी सरुवा गरी वडालाई प्राविधिक विहीन बनाएको उनले बताए ।

अध्यक्ष काफ्लेले भने ‘मेयरको सन्काईमा कर्मचारी सरुवा गरियो, राणा शासनकालको शासन भन्दा बढी भयो, राणा शासनमा हुर्के बढेको छोरी चेली घरमा देख्यो कि टिपेर लाने चलन जस्तो कर्मचारीलाई आतङ्कित बनाउने काम भयो ।’

बिना कसुर कर्मचारीलाई सरुवा गर्ने, जिम्मेवारी खोसुवा गर्ने जस्ता विडम्बनापुर्ण काम हुनु सोचनीय कुरा भएको उनले बताए ।

वडाध्यक्ष काफ्ले भने ‘मेयर साम्पाङले एक जना महिलाको कुरा सुनेर जबरजस्ती नगर प्रहरीलाई आदेश दिएपछि प्रदेश सरकारको बजेटमा भइरहेको काम दलबल सहित जेसीवी रोक्न गएपछि जनता बिच खुकुरी हानाहान समेतको स्थिति भएको थियो ।’

letter amin Harka