सप्तरी : महुली लघुवित्तले आफ्नो १२औँ स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ३२ वटा जिल्लाका ६४ वटा शाखा कार्यालय मार्फत वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

बिरुवा संरक्षणलाई मुख्य प्राथमिकतामा राखी संस्थाको केन्द्रीय कार्यालयले अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं २ को अग्नीसाइर मन्दिर परिसर र अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ र १ वडाहरू शम्भुनाथ नगरपालिका-१ मा गरी करिब १५०० बिरुवा, र वित्तीय संस्थाका अन्य शाखा कार्यालयहरूले सदस्यलाई बिरुवा हस्तान्तरण गर्नुका साथै मन्दिर, स्कुल, अस्पताल परिसरमा करिब १०,००० वृक्षारोपण गरेका छन् ।

२०५७ साल देखि महुली सामुदायिक विकास केन्द्रबाट वित्तीय संस्थाको रूपमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार मिति २०६९ साल भदौ १७ गते कम्पनी रजिष्टार कार्यालयमा कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक ली. कम्पनीको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको रूपमा प्रवर्द्धन गरी मिति २०७० साल ज्येष्ठ ३० गते कम्पनी रिजिष्ट्रारको कार्यालयबाट कारोबार अनुमति प्राप्त गरी सोही मितिबाट महुली सामुदायिक विकास केन्द्रको लघुवित्त कार्यक्रम वित्तीय संस्थालाई हस्तान्तरण गरी कारोबार सञ्चालन गरेकोले कारोबार सञ्चालन मितिलाई नै आधार बनाएर हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ।

यस सँगै महुली लघुवित्त वित्तीय संस्थाको मातृ संस्था महुली सामुदायिक विकास केन्द्रले समेत आफ्नो ३२ औँ वर्षमा प्रवेश गरेको छ । 

सप्तरी जिल्लामै विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको महुली सामुदायिक विकास केन्द्र र महुली लघुवित्त वित्तीय संस्था ली.ले वृक्षारोपण गर्दै संयुक्तरुपमा स्थापना दिवस मनाएका छन् ।

दुवै संस्था भिन्दै प्रकृतिको भए पनि सप्तरी जिल्लामा सामाजिक र आर्थिक गतिविधि संयुक्तरुपमा आयोजना गर्दे आइरहेका छन् । 

महुली लघुवित्तले विश्वव्यापी तापमान वृद्धि, वायु प्रदूषण लगायत अन्य वातावरणीय समस्यालाई मध्य नजर गर्दै हरेक वर्ष वृक्षारोपण कार्यक्रमलाई विशेष प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

१२ औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले महुलीले समाजमा बेग्लै स्थान बनाउन सफल भएकोमा कर्मचारीहरूलाई विशेष धन्यवाद दिँदै समुदाय र सेवाग्राही सदस्यहरू प्रति पारदर्शी र उत्तरदायी भई छिटो, सरल, सहज सेवा सँगै संस्थाको नारा 'सबैको लागी, सधैँको लागी' व्यवहारिक रूपमा लागु गर्न निर्देशन दिएका थिए ।