इटहरी : नेकपा एमाले इटहरी उपमहानगर कमिटीमा विवाद बढ्दै गएको छ । नगर कमिटी अधिवेशनमा प्रतिनिधि छनौटलाई लिएर विवाद उत्कर्षमा पुगेको हो ।

नगर कमिटीले २०८० चैत मसान्तसम्म नवीकरण भएका सङ्गठित सदस्य मध्येबाट प्रतिनिधि छनौट गरेपछि समस्या उत्पन्न भएको छ । असन्तुष्ट समूहले २०८१ वैशाख सम्म नवीकरण गरेका सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्नुपर्ने माग राख्दै आएको छ । सोही क्रममा ४ र ५ नम्बर वडा कमिटीको कार्यालयमा तालाबन्दी भएको हो ।

जिल्ला अधिवेशनमा प्रतिनिधित्व गरेका सदस्यकै आधारमा प्रतिनिधि छनौट भएको कार्यवाहक अध्यक्ष रुपेश बस्नेतले बताए । केन्द्रीय पार्टीको सर्कुलर अनुसार सम्पूर्ण पालिका कमिटीको अधिवेशन भइरहेको र सोही अनुसार इटहरीको पनि प्रतिनिधि छनौट भएको उनको भनाइ छ । अध्यक्षको दाबेदार समेत रहेका उनले पार्टी भित्र चेन अफ कमान्ड हुने र कसैलाई पनि अराजकता मच्चाउने छुट नहुने प्रस्ट पारे ।

युवासंघ सुनसरी जिल्ला अध्यक्ष तथा नगर अध्यक्षका दाबेदार सुजन लामाले वर्तमान नगर कमिटीले अलोकतान्त्रिक तवरले पेल्न खोजेको बताए । नयाँ नवीकरण भएका सदस्यलाई बाहिर राखेर अधिवेशन गर्न खोज्नु पराजित मानसिकताको उपज भएको उनको भनाइ छ ।

जेठ २९ देखि ३२ गते सम्मको लागि तोकिएको नगर अधिवेशन जिल्ला अध्यक्ष निलम खनालको मृत्युको कारण तिनदिन पछाडि धकेलिएको हो । असार २ गते अधिवेशन उद्घाटन गरेर निर्वाचन प्रक्रिया सुरु गर्ने एमालेले जनाएको छ  ।

Nepal Communist Party talabandi news 2