धरान : धरान उपमहानगरपालिका प्रशासकीय प्रमुख विहीन हुँदा प्रशासनिक कामकाजमा गम्भीर र संवेदनशील परिस्थिति उत्पन्न भएकोले सङ्घीय सरकारसँग धरानका प्रमुख राजनीतिक दलहरूले तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन सङ्घीय सरकारसँग माग गरेका छन् ।

धरानका ५ प्रमुख राजनीतिक दलहरूले आज शुक्रवार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समक्ष माग गरेका छन् ।

वक्तव्यमा भनिएको छ ‘उपमहानगरपालिका प्रशासकीय प्रमुख विहीन भई रहँदा प्रशासनको कामकाजमा गम्भीर र संवेदनशील परिस्थिति आईपर्दा धरानका प्रमुख राजनैतिक दलहरू मुखदर्शक हुन सक्दैनन् ।’

तुरुन्त प्रमुख प्रशासकीय अधिकृत खटाई उपमहानगरपालिकालाई कानुनी राज्यको प्रत्याभूति दिलाउन दलहरूले माग गरेका हुन् ।

प्रमुख प्रशासकीय विहीन हुँदा उपमहानगरपालिकामा प्रशासनिक कार्य गैरकानुनी ढङ्गबाट सञ्चालन भएको कार्यपालिका सदस्य जनप्रतिनिधिहरूले समेत सवाल उठाएका छन् । त्यसले नेपाल सरकारका कानुन, नीति, नियम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा शुक्रवार नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा एकाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी इन्चार्ज चोत्लुङ, जसपा केन्द्रीय सदस्य ताजुब लिम्बु, नेकपा एस अध्यक्ष रेवती रमण राईले हस्ताक्षर गरेका छन् ।

उपमहानगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा उपमहानगरपालिकाबाट सञ्चालन हुने विकास निर्माणका कामहरू सहित दैनिक प्रशासनिक कामहरू समेत अवरुद्ध भएको वक्तव्यमा उल्लेख छ ।

पछिल्लो समय नगर प्रमुखले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कानुन विपरीतका कामहरूमा हस्ताक्षर गर्न दिएको दबाब अस्वीकार गर्दा काम नगर्न आदेश गरेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत नरहेको अवस्थाले जटिल समस्या सृजना हुनु खेदजनक भएको काँग्रेसका सभापति श्याम पोखरेलले बताए ।

दलहरूले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता, दिर्घरोगी लगायत नागरिकहरूले तत्काल पाउनु पर्ने सेवा सुविधा समेत रोकिएकोमा क्षोभ प्रकट गरेको छ । वक्तव्यमा भनिएको छ ‘विकास निर्माणका भुक्तानीहरू, शिक्षक तथा कर्मचारीहरूको सेवा सुविधामा समेत प्रत्यक्ष असर परि संक्रमणकाल सृजना भएको छ ।’

Dharan-PR-party