धरान : मेयर हर्क साम्पाङको कार्यशैलीका कारण धरान उपमहानगरपालिका अस्तव्यस्त भएको उपमेयर आइन्द्र विक्रम बेघाले आरोप लगाएका छन् ।

मेयर साम्पाङले आज बिहीबार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै प्रकट गरेका धारणाप्रति आपत्ति जनाउँदै उपमेयर बेघाले पनि आजै कार्यकक्षमा पत्रकार सम्मेलन आयोजना गरेका हुन ।

कार्यपालिका सदस्यहरूले मेयर साम्पाङको कार्यशैलीमा आपत्ति जनाउँदै बिहीबार बोलाइएको कार्यपालिका बैठक नभए पछि उपमेयर बेघाले पत्रकार सम्मेलनमा भने 'मेयर साम्पाङले कार्यपालिकालाई 'कोमा'मा पुर्‍याएर उपमहानगरपालिका सञ्चालन गर्न खाजेका छन् ।'

वडाध्यक्ष तथा कार्यपालिका सदस्यको मूल मर्मसँग आफू सहमत भएको बताउँदै उपमेयर बेघाले भने ‘कार्यपालिका सदस्यहरूको समन्वय र सहकार्यबाट अघि बढौँ भन्ने मर्म थियो तर मेयरले सहकार्य नगरेका कारण सहकार्य भएन ।’

उपमेयर बेघाद्वारा जारी विज्ञप्तिमा आफू निर्वाचित भएर आएपछि २ वर्षसम्म जिम्मेवार ढङ्गमा प्रस्तुत प्रस्तुत हुँदाहुँदै पनि उपमहानगरपालिका अस्तव्यस्त हुनुको मुख्य कारण नगर प्रमुखको कार्यशैली नै भएको उल्लेख छ ।

मेयर साम्पाङको तोक आदेश र मुखादेश कानून सम्मत नभएको स्पष्ट गर्दै उपमेयर बेघाले भने ‘मेयर साम्पाङले सङ्घीय तथा प्रदेशका मन्त्रालयमा नगर प्रमुखले माग गरेको बाहेक कुनै पनि योजना नदिनु भनी पत्राचार गरेका छन् ।’

यसरी धरानको विकास सम्भव छ ? भनी प्रश्न गर्दै उपमेयर बेघाले भने 'आएका आयोजना पनि चित्त नबुझेमा मेयरले आफै काम रोकिदिँदा धरानमा समस्या भएको छ ।'

धरान उपमहानगरपालिकामा करिब ७ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत छैन । आर्थिक कारोबारको अधिकार प्राप्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलालाई काम नगर्नु भनेर पत्र र मौखिक आदेश दिएको कारण आर्थिक वर्षको अन्त्यमा समस्या सृजना भएको विज्ञप्तिमा उल्लेख छ ।

यसको लागि मेयर साम्पाङ जिम्मेवार भएको उपमेयर बेघाले बताए । मेयर साम्पाङले कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्नुपर्ने हुन्छ ।

जनप्रतिनिधि, सङ्घ संस्था, कर्मचारी प्रशासनसँग समन्वय गर्नु पर्नेमा मेयर साम्पाङले प्रशासनिक अधिकार समेत आफैले प्रयोग गर्न खोजेको उपमेयर बेघाले आरोप लगाए ।

प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने कार्य, योजना, सम्झौता नगर प्रमुख आफैले गर्दा प्रशासनिक काम कारबाहीमा अवरोध उत्पन्न भएको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृतको अधिकार र दफा १६ (ख) मा उल्लेख भएकोमा उपमेयरले ध्यानाकर्षण गराएका छन् ।

मेयर साम्पाङले उप-प्रमुखको अधिकार समेत प्रयोग गरी ऐनको पदीय आचरण विपरीत कार्य गर्न थालेको उपमेयर बेघाले बताए । उनले भने ‘धरान उपमहानगरपालिका स्थानीय सरकार सञ्चालन ऐन अनुसार समन्वयात्मक ढङ्गले अगाडी बढ्न सकेको छैन ।’

विज्ञप्ति मार्फत उपमेयर बेघाले मेयर साम्पाङलाई तहगत दायित्व र जिम्मेवारी बोध गरी मर्यादित ढङ्गले सबैसँग समन्वय गरी अभिभावकत्वको निर्वाह गर्न अनुरोध गरेका छन् ।