धरान : धरान उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा भूपेन्द्र राईले आज बुधवार हाजिर भई कार्यभार सम्हालेका छन् ।

उपमहानगरपालिका गत ८ महिना देखि प्रमुख प्रशासकीय अधिकृत विहीन थियो । सहसचिव राई कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट उप-महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका हुन ।

उनी मन्त्रालयमा अढाई महिना कार्य गरी धरान आएका हुन । धरानमा प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा धरान विकास निर्माण तथा शिक्षक, कर्मचारीका तलब भुक्तानी समेत महिनौँ देखी रोकिएको थिए । दैनिक ज्यालादारी कर्मचारीदेखि आयोजनाको भुक्तानी समेत रोकिएको थियो ।

नेपाल सरकारको मन्त्री परिषद्को निर्णयबाट सहसचिव श्रीराम ठाकुरलाई धरानमा पठाउने निर्णय गरेको भएपनि ठाकुरले बिच बाटोबाटै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा मिलाएर गएका थिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार जेठ १८ गते मन्त्रीस्तरिय निर्णयबाट ४ जना सहसचिव सरुवा भई सहसचिव ठाकुरले मन्त्रालयबाट धरान सरुवा हुने पत्र बुझिसकेको बताएका थिए । तर ठाकुर बाटैबाट अर्कै तिर सरुवा लिएर गएका हुन ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा उपमहानगरपालिकाको आर्थिक र प्रशासनिक कार्य ठप्प भएको अवस्था प्रति धरानका स्थानीय राजनीतिक दलहरूले गम्भीर चिन्ता प्रकट गरेको थियो ।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट, नगर सभा लगायतका कार्य समेतमा अवरोध आउने भएकाले दलका नेताहरूले सङ्घीय सरकारसँग धरानमा तत्काल प्रमुख प्रशासकीय अधिकृत पहल गरेका थिए ।

धरानका ५ प्रमुख राजनीतिक दलहरूले असार १ गते प्रेस विज्ञप्ति जारी गर्दै उपमहानगरपालिका प्रशासकीय प्रमुख विहीन हुँदा प्रशासनिक कामकाजमा गम्भीर र संवेदनशील परिस्थिति उत्पन्न भएकोले सङ्घीय सरकारसँग तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन सङ्घीय सरकारसँग माग गरेका थिए ।

दलहरूले वक्तव्यमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता, दिर्घरोगी लगायत नागरिकहरूले तत्काल पाउनु पर्ने सेवा सुविधा समेत रोकिएकोमा क्षोभ प्रकट गर्दै वक्तव्यमा भनिएको छ ‘विकास निर्माणका भुक्तानीहरू, शिक्षक तथा कर्मचारीहरूको सेवा सुविधामा समेत प्रत्यक्ष असर परि संक्रमणकाल सृजना भएको’ उल्लेख गरेका थिए ।