धरान : दुवै मृगौला पीडित गङ्गाराम राईलाई एनप्याव्सन धरान नगर समितिले मङ्गलवार नगद ५ लाख ३६ हजार छ सय रुपैयाँ सहयोग हस्तान्तरण आर्थिक सहयोग गरेको छ ।

समितिले आइतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विद्यालयबाट सङ्कलन गरेको सहयोग रकम हस्तान्तरण गरेको हो । बिरामीको उपचारमा जति सहयोग पुर्‍याऊ भन्ने उद्देश्यले सहयोग सङ्कलन गरिएको एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्बूले बताए ।

एनप्याव्सन केन्द्रीय सचिव राजेन्द्र गुरुङले स्कुल सञ्चालन गर्ने र पढाउने मात्र नभएर परेको वेला सहयोग पनि गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि सहयोग सार्थक हुने बताए ।

हामीले परीक्षा सञ्चालन गर्नको लागि भेट गर्ने मात्र नभएर साथीभाइलाई समस्या हुँदा सहयोग गर्नु पनि संस्थाको उद्देश्य रहेको गुरुङको भनाई रहेको छ ।

त्यसैगरी एनप्याव्सन कोशी प्रदेश सहसचिव प्रभास राजवंशीले साथीलाई परेको समस्यामा केही मात्रामा भए पनि सहयोग गर्न सक्नु नै मानवीय धर्म भएको बताउँदै आत्मबल दरो बनाउन सुझाव दिएका थिए ।

त्यसैगरी एनप्याव्सन सुनसरीका सहसचिव चन्द्र प्रसाद ढकालले आत्मबल बलियो बनाउन सुझाव दिँदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए ।

दुवै मिर्गौला फेल भएर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा विगत ४ महिनादेखि उपचार राई धरान-१५ स्थित हिविसकस इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत रहेका छन् । संस्थाको सहयोगबाट आफूलाई उपचारमा सहयोग पुग्नुको साथै हौसला मिलेको पीडित राईले बताए ।

राई मिर्गौला प्रत्यारोपणको अन्तिम तयारीमा रहेका छन् । उनलाई उनकी श्रीमतीले मिर्गौला दिनको लागि सबै कागजी प्रक्रिया तयारी भइरहेको पीडित राईले जानकारी दिए ।