इटहरी : दुई वर्ष अगाडी पोल्यान्ड जाने तयारीमा रहेका इलामका मदन लिम्बु अहिले इटहरीको होटेलमा बसिरहेका छन् । पोल्यान्ड जाने योजना बनाएर द रिभर ओभरसिजलाई सुरुमा डेढ लाख बुझाएका उनी अहिले त्यही पैसा फिर्ता माग्न इटहरी धाइरहेका छन् ।

भिसा प्रोसेसको अन्तिम तयारी भनेर अन्तरवार्ता लिन बोलाए पनि अहिलेसम्म सम्पर्क नगरेपछि पैसा फिर्ता माग्न इटहरी पुगेका हुन् । इटहरी कार्यालयमा गएर अन्तरवार्ता दिएका उनी पैसा फिर्ता आउने झिनो आशामा छन् । द रिभरले भुक्तानी गरेको बिल समेत नदिएको हुँदा समस्यामा छन् लिम्बु ।

लिम्बु जस्तै समस्यामा छन् सुनसरीको गढी गाउँपालिकाका दीपेन्द्र यादव । एकलाख डुबेको बताउने उनी मलेसियाको लागि द रिभरले कुनै प्रक्रिया अगाडी नबढाएपछि अलमलमा परेका हुन् । एक वर्ष देखि पैसा फिर्ता माग्दा केही दिनमा दिने भनेपनि अहिलेसम्म पैसा आउने र विदेश पठाउने कुनै सुरसार नभएको बताउँछन् यादव ।

लिम्बु र यादव सहित ४० भन्दा बढी पीडितले बिहीबार इटहरी उपमहानगरपालिका कार्यालयमा न्याय माग्दै पीडितहरूले निवेदन दिएका छन् । भौचर र कागजी प्रमाण नभएका पीडितहरूले नगर प्रमुख हेमकर्ण पौडेल समक्ष निवेदन दिएका हुन् । निवेदनमा ७० लाख भन्दा बढी ठगी गरेको उल्लेख छ ।

इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका अर्का पीडितले सबैगरी दुई करोड भन्दा बढी ठगी भएको बताए । धेरै पीडितसँग द रिभरले दिएको रसिद समेत प्रमाणको रूपमा नभएको कारण समस्या भएको उनको भनाइ छ ।

पीडितहरूले प्रहरी र पालिकामा मात्र हैन वैदेशिक रोजगार व्यवसायी सङ्घ देखी वैदेशिक रोजगार विभागमा पनि उजुरी दिएका छन् । तथापि द रिभरको ठगिबाट पीडितले न्याय पाउन सकेका छैनन् । 

इलाका प्रहरी कार्यालय इटहरीले द रिभर ओभरसिज इटहरीका सञ्चालक महेन्द्रराज खतिवडालाई पक्राउ गरेको छ । विदेश पठाइदिन्छु भन्दै अलपत्र पारेका खतिवडाले रकम नभएको चेक दिएको कारण बैङ्किङ कसुरमा उनी पक्राउ परेका हुन् ।

विष्णुभक्त गौतमलाई ७ र ३ लाखका दुई वटा चेक दिएका खतिवडाले हरि चापागाईँको नाममा १ लाख ९० हजारको चेक दिएका थिए । तिनवटै चेकबाट पैसा भुक्तानी नभएपछि गौतम र चापागाईँले मुद्दा दर्ता गराएका हुन् । त्यससँगै अन्य ८ जनाले ठगी मुद्दामा उजुरी दर्ता गराएका छन् ।

The River Overseas 2

The River Overseas 3