इटहरी : नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा जोडिएका छन् । धरानको विकट क्षेत्र बङ्सिलामा लालीगुराँस रोपेर उनले संरक्षण अभियान सुरु गरेका हुन् ।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ ले लालिगुँरास रोपेर  अभियान थालनी गरेको छ । गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेमा समेत गुराँस मासिँदै गएपछि डाक्टर शेखरले चासो दिएका छन् ।

धरान उपमहानगरपालिका वडा नम्बर २० मा पर्ने बङ्सिला भौगोलिक रूपमा विकट मानिन्छ । भौगोलिक विकटताले डाक्टर शेखर निर्धारित कार्यक्रम स्थल सम्म पुग्न सकेनन् । कार्यक्रम स्थल नजिकै गुराँसको बिरुवा रोपेर अभियानको उद्घाटन गरे ।

बिरुवा रोप्ने क्रममा उनले लालीगुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे । यस क्षेत्रको विकासको निम्ति लालीगुराँस अत्यन्तै महत्त्वपूर्ण रहेको र पर्यटन प्रवर्द्धनमा कोशेढुँगाको रूपमा स्थापित हुने धारणा राखे । धरानको विकट क्षेत्रमा पनि विकासको लागि यस्ता रचनात्मक कदमको जरुरी रहेको र लालीगुराँस संरक्षण अभियान निरन्तर लाग्नुपर्ने बताए ।

ताप्लेजुङको पाथीभरामा केबलकार सञ्चालनको लागि गुराँसको विनाश भएपछि अभियान थालिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । बिकट र पछाडि परेको क्षेत्र भएपनि प्राकृतिक रूपमा धनी बङ्सिलामा गुराँस सँगै स्थानीय जनताको भाग्य फुल्ने उनको भनाइ छ । राष्ट्रिय फुलको प्रजाति रोपेर समृद्धिको सन्देश दिन खोजेको उनले प्रष्ट पारे ।

shekhar-dharan-2