धरान : धरानमा धार्मिक कलह र असन्तुष्टि बढिरहेको बेला नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले संयमित हुन आग्रह गरेका छन् । आइतबार धरान पुगेर डा कोइरालाले उत्तेजना र बहकाउमा नलाग्न अनुरोध गरेका हुन् ।

अस्थिरता चाहने तत्त्वहरूले देशलाई जातीय र धार्मिक द्वन्दमा धकेल्न कोसिस गरिरहेको बताउँदै उनले धार्मिक सद्भाव कायम गर्नुपर्ने  बताए । देशमा साम्प्रदायिक द्वन्दको बीजारोपण गरेर सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने समूह सक्रिय रहेको उनको भनाइ छ । सद्भाव बिथोल्ने कार्य कदापि स्वीकार्य नहुने बताएका डा कोइरालाले विभाजनले भन्दा एकताले विकासमा योगदान पुर्‍याउने धारणा राखे ।

पछिल्लो समय धरानमा गाई/गोरु को मासु काटेको विषयमा द्वन्द्व बढ्दै गरेको छ । त्यस अघि बाल गोपाल मन्दिर अगाडि चर्च निर्माण भएको बिषयले धार्मिक मुद्दा पेचिलो बनाएको हो । त्यससँगै धरानका मेयर हर्क साम्पाङका अभिव्यक्तिले हिन्दु धर्मावलम्बीले विरोध जनाएका छन् ।

धार्मिक मुद्दा बढेको बेला पहिलो पटक केन्द्रीय स्तरको नेता कोइराला धरान पुगेका हुन् । धरानमा उनले हरेक  भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउँने अधिकार संविधानले ग्यारेन्टी गरेको प्रष्ट पारे । धर्मका नाममा राजनीति गर्न नहुने बताउँदै संयमित हुन  धरानवासीमा आग्रह समेत गरे।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ ले सञ्चालन गरेको "ग्रिन एण्ड क्लिन धरान अभियान २०८०" को समापन कार्यक्रमलाई सम्बोधन गर्न कोइराला धरान पुगेका हुन् । कुनै एक ठाउँबाट साम्प्रदायिक फैलिए त्यसको ज्वाला देशै भरि जाने खतरा रहेको पनि बताए ।