वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाको आर्थिक वर्ष ०८१/०८२ का लागि ९३ करोड ९३ लाख २ हजारको बजेट सार्वजनिक गरेको छ । सोमवार नगरपालिकाले १४ औँ नगर सभा मार्फत स्वास्थ्य, शिक्षा ,कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।

सभामा नगर प्रमुख रमेश कार्कीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको पहिलो बुँदामै 'समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार' भन्ने नारा तय गरिएको छ । बजेट मार्फत कृषि र पर्यटनमा रोजगारी सृजना गर्ने नगरपालिकाको लक्ष्य छ । ।

स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको लागि सङ्घीय सरकारसँग पहल गरी ५० शैय्या क्षमताको अस्पतालको रूपमा स्तरोन्नति गर्न सङ्घीय सरकारसँग सार्थक पहल गरिने र मधुवन प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

'स्वास्थ्य सेवाको बिस्तार, नगरको जिम्मेवारी' भन्ने नाराका साथ सबै नागरिकमा गुणस्तरीय आधारभूत स्वास्थ्यको सेवा पहुँच सुनिश्चित गर्दै आधारभूत सेवालाई घरदैलोमा पुर्‍याउने पहल गरिने, आर्थिक रूपमा विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स र शववाहनको व्यवस्थापन गरिने उल्लेख छ  ।

नसर्ने रोगको पहिचान तथा उपचारका लागि घुम्ती शिविर कार्यक्रम, 'स्वास्थ्य सहर, कुपोषण रहित वराहक्षेत्र नगर' अभियानलाई सफल बनाउन ५ वर्ष मुनिका बालबालिका लागि पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।

नगर अस्पताल र चतरा अस्पतालमा रहेको प्रयोगशालालाई स्तरोन्नति गरी विस्तारित सेवा सहित रोग निदानको सेवालाई बिस्तार गरिने त्यस्तै उक्त अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको व्यवस्था गरिने कार्यलाई समेत नीति तथा कार्यक्रममा राखिएको छ । गर्भवती तथा सुत्केरी महिलाहरूको लागि एम्बुलेन्स खर्च बापत प्रदान हुँदै आएको सुत्केरी सुविधालाई निरन्तरता दिइनेछ । 

स्वास्थ्य चौकीहरूमा रहेका प्रयोगशालाहरूको क्षमता विकास, विद्यालय पुगेर विद्यार्थीको आँखा परीक्षण, ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

स्वास्थ्य बिमालाई प्रभावकारी बनाइने र आर्थिक रूपमा कमजोर परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई नीति कार्यक्रमै राखिएको छ ।

स्वास्थ्य, शिक्षा, कृषि,पशुपन्छी विकास, पर्यटन, पूर्वाधार तथा भौतिक विकास, सामाजिक विकास, सामाजिक सेवा एवम् सुशासन प्रवर्द्धन, वन वातावरण भूमि तथा भूसंरक्षण, युवा तथा खेलकुद विकास, खानेपानी तथा सरसफाइ, सहकारी, रोजगारी, सीप विकासलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइनेछ ।

'शैक्षिक केन्द्रको सुधार, स्मार्ट नागरिकको आधार' भन्ने नाराको साथ नगरको शिक्षा प्रणालीको सुधार गर्दै अब्बल व्यवस्थापकीय कुशलता, शैक्षिक क्षमताको विकास, सामुदायिक एवम् संस्थागत विद्यालय बिचको भिन्नताको अन्त्य, असल अभ्यासहरूको आदानप्रदान, नमुना विद्यालयको नीति अवलम्बन कार्यलाई ल्याइने छ ।

'हामी र हाम्रो वराहक्षेत्र' शीर्षकको स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्म कार्यान्वयन गरिनेछ । "संस्कार सहितको गुणस्तरीय शिक्षा, समाज परिवर्तनको मूल आधार" भन्ने अवधारणा मार्फत  हाम्रो वराहक्षेत्र भन्ने भावना जागृत गर्दै शैक्षिक कार्यक्रम तयार गरिनेछ ।

"बालबालिकालाई विद्यालय पठाऔँ र पढाइमा लगाऔँ" कार्यक्रम लागू गरी अभिभावक साक्षरता र सचेतना कार्यक्रम तय गरिएको छ । विद्यालयलाई नतिजा र स्तरको आधारमा प्रोत्साहन र सहयोग, विद्यालय सुधारका लागि अभिभावकसँग अन्तर्क्रिया, विज्ञ सहितको अनुगमन, विद्यालयलाई जङ्क फुड मुक्त बनाउने, विद्यालयहरूको भौतिक पूर्वाधार र सौन्दर्यीकरण कार्यक्रमलाई नीति तथा कार्यक्रममा राखिएको छ ।

विद्यार्थीहरूलाई विभिन्न विद्यामा पुरस्कार, प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूलाई विद्यालय सुधार योजना निर्माण सम्बन्धी तालिम, उपचारात्मक कक्षालाई निरन्तरता दिइएको छ । विद्यालयको अनुगमनलाई प्रभावकारी बनाई गुणस्तरीय शिक्षामा जोड दिइने छ ।

त्यस्तै कृषिमा कृषि एम्बुलेन्स सञ्चालन ल्याई कृषकहरूले उत्पादन गरेको कृषि उपजहरूलाई संक्लन गरी बजारीकरणको गर्ने प्रयास गरिनेछ । शीत लहर, फलफूल उत्पादनलाई बुद्धि गर्ने, कोशी टप्पुको जमिनको सदुपयोग गर्ने "कृषक र उद्यमी, वराहक्षेत्र नगरको साथी" जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको छ ।

साबिकका ५ बटा गाविसलाई केन्द्रित गरेर १-१ जना ५ कृषि प्राविधिक, प्राङ्गारिक खेती प्रवर्द्धन, स्थानीय उत्पादनलाई ब्राण्डीङ्ग, कृषकलाई प्रशिक्षण, अनुभव साटासाट, सामयिक किसिमको खेतीलाई प्रोत्साहन, कृषि बिमा कार्यक्रम, पौरखी किसानलाई सम्मान, शीत भण्डारलाई पूर्ण रूपले सञ्चालन लगाएका कार्यक्रम तय गरिएको छ ।

पशुपन्क्षि चिकित्सा सेवा व्यवस्थापन, कृतिम गर्भधारण प्रोत्साहन निःशुल्क गर्भधारण सेवा सञ्चालन, भेटनरी अस्पताल निर्माण, पशुपन्छी महामारी जन्य रोगहरू फैलिएमा पशु सेवा विज्ञको रेस्पोन्स टिम बनाइनेछ ।

नगरपालिकालागि पर्यटक प्रवर्द्धन गर्न धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, प्रवर्द्धन तथा प्रचार प्रसार गरी पर्यटनहरूलाई जोड दिइने छ । वराहक्षेत्र, धरान र इटहरीलाई धार्मिक सर्किटको रूपमा जोड दिइने छ ।

श्रीलङ्का टप्पुमा होम स्टे कार्यक्रम सञ्चालन गरिनेछ । कोशी किनार क्षेत्रमा पर्यटकीय गतिविधिलाई बढाउन सम्भाव्यता अध्ययन तथा पूर्वाधार विकासको लागि आवश्यक पहल गरिनेछ ।

ऐतिहासिक, पुरातात्त्विक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण संवर्द्धन, वराहक्षेत्र मन्दिर परिसरमा सञ्चालन होटेललाई पर्यटन मैत्री बनाउन आतिथ्यता सम्बन्धी तालिम, पर्यटन विकाशको लागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने लक्ष्य राखिएको छ ।

पर्यटकीय क्षेत्रको विकासमा चतरा स्थित कोशी किनारमा सन्ध्या आरती सुरु गरिनेछ ।

सहकारी संस्थाको अनुगमन, नियमनलाई प्रभावकारी बनाइनेछ । बजार अनुगमनलाई प्रभावकारी बनाइनेछ । अव्यवस्थित बसोबास, सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्न पहल गरिनेछ । कोसी कटान र जङ्गली जनावर नियन्त्रण गर्ने देखी अव्यवस्थित बसोबास समाधान लगायतका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नगरपालिकाबाट सञ्चालित अधुरा तथा क्रमागत आयोजनलाई प्राथमिकता दिइनेछ । सहरी तथा ग्रामीण क्षेत्रमा सडक तथा यातायातको बहुँज बिस्तार गरिनेछ । नगरका सहरी क्षेत्रमा ६० तथा ४० प्रतिशत लागत साझेदारीमा सडक कालोपत्रे गर्न कार्य गरिनेछ । वराहक्षेत्र नगरपालिकामा राष्ट्रिय योजना भित्राउन पहल गरिनेछ ।

सभामा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, भौतिक पूर्वाधार सहित सामाजिक विकाश सम्बन्धी, सार्वजनिक सेवा एवं सुशासन प्रवर्द्धन सम्बन्धी, पशुपन्छी विकास सम्बन्धी, सहकारी, बजार व्यवस्थापन, भौतिक विकास, राजस्व परिचालन एवं स्रोत अभि वृद्धि सम्बन्धी, सामाजिक विकास सम्बन्धी, सार्वजनिक सेवा एवं सुशासन प्रवर्द्धन सम्बन्धी, बन, वातावरण भूमि भू:संरक्षण सम्बन्धी, युवा तथा खेलकुद विकास र खानेपानी तथा सरसफाइ सम्बन्धी योजनाहरू नगर प्रमुख रमेश कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सभामा नगर प्रमुख कार्कीले प्रस्तुत गरेको नीति कार्यक्रम, उप-प्रमुखले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम, आर्थिक विकास समितिका संयोजक तेजबहादुर गुरुङले सभामा पेस गरेको सम्बन्धी बिधेक माथि मङलबारबाट छलफल गरिने छ ।

यस्तो छ बजेट :

आर्थिक वर्ष ०८१/०८२ को लागि नगरपालिकाले आन्तरिक आय ६ करोड ३५ लाख अनुमान गरेको छ । नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको श्रोतमा  सङ्घीय सरकारबाट आउने सशर्त अनुदानलाई राखिएको छ । ४५ करोड ४२ लाख सशर्त अनुदान र १९ करोड २ लाख वित्तीय समानिकरण अनुदानको आधारमा बजेट तर्जुमा गरिएको छ ।

सङ्घबाट हुने राजस्व वाडफाँडमा १६ करोड ५८ लाख आम्दानी हुने अनुमान गरिएको छ । यस्तै समपूरक अनुदान सङ्घबाट १ करोड ५० लाख, प्रदेशबाट सशर्त अनुदान १ करोड ५२ लाख ५३ हजार, प्रदेश राजस्व बाँडफाँड १ करोड ८३ हजार, समपूरक अनुदान प्रदेशबाट १ करोड ३० लाख, वित्तीय समानिकरण अनुदान प्रदेशबाट १ करोड २२ लाख ६० हजार गरी कुल ९३ लाख ९३ लाख २ हजार आय अनुमान गरेको छ ।

चालु खर्च १५ करोड ५२ लाख, वडा कार्यालय (पुँजीगत) ७ करोड १५ लाख, पुँजीगत बजेट (नगर तर्फ) १८ करोड ११ लाख ४३ हजार, सशर्त अनुदान (सङ्घ) ४५ करोड ४२ लाख, सशर्त अनुदान (प्रदेश) १ करोड ५२ लाख ५३ हजार, समपूरक अनुदान (प्रदेश) १ करोड ३० लाख, समपूरक अनुदान (सङ्घ) १ करोड ५० लाख, कर्मागत योजना भुक्तानी वडामा समेत गरी कुल ९३ लाख ९३ लाख २ हजार रहेको छ ।

उद्घाटन कार्यक्रममा वराहक्षेत्रका अग्रज साहित्यकार मान बज्राचार्यलाई सम्मान समेत गरिएको थियो । त्यस्तै पत्रकार बाबुराम कार्की र प्रदीप चौधरी, नगर अस्पतालका चिकित्सक डाक्टर चिरञ्जीवी बस्नेत, कराते खेलाडी पवित्र मगर सहित ज्येष्ठ नागरिकहरूलाई नगर सहित सम्मान पत्रले सम्मान गरिएको थियो । 

नगरपालिकाका कर्मचारी गौरी राय र सीता बास्तोलालाई उत्कृष्ट कर्मचारीको रूपमा नगद र सम्मान पत्रले पुरस्कृत गरिएको थियो । त्यस्तै कोशिका आधारभूतका प्रधानाध्यापक काशीनाथ बराल र राधाकृष्ण संस्कृत माध्यमिक विद्यालय गुरुकुलका प्राचार्य जमुना दाहाललाई नगद सहित सम्मान पत्रले सम्मानित गरिएको थियो ।

उनीहरूलाई सभामा अतिथि रहेका कोशी प्रदेश सभाका सदस्यहरू ममता तामाङ, सदान्नद मण्डल, विजय राई, सपना परियार, नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल लगायतले सम्मान तथा पुरस्कृत गरेका थिए ।