धरान : आर्थिक वर्ष २०८१/०८२ को बजेट सहित नीति तथा कार्यक्रम पारित गर्ने नगरसभाको पूर्व सन्ध्या धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईलाई नेपाली काँग्रेस धरान नगर समितिले सोमवार ३३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
काँग्रेसले आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा धराने जनताले विकासको अनुभूति गर्ने योजना र रकम विनियोजन गर्न माग गर्दै बुझाएको हो ।
सभापति श्याम पोख्रेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ध्यानाकर्षण बुझाउँदै मेयर साम्पाङलाई धरानको समग्र विकास र समृद्धिमा सामूहिक प्रयास र प्रयत्न अपरिहार्य रहेको बताए । प्रतिनिधि मण्डलले जो कोहीलाई पनि कानुनी राज्यले निर्दिष्ट नियम कानुन विधि लागु हुनुपर्ने स्मरण गराए ।
सभापति पोखरेलले भन ‘उपमहानगरपालिका कानुन सम्मत प्रक्रियामा गए नेपाली काँग्रेस सहकार्य गर्न सदैव तत्पर रहेको छ ।’ उनले सामूहिक प्रयास र प्रयत्न गर्ने हो भने जति नै कठोर कार्यलाई पनि सहजै रूपमा सम्पन्न गर्न सघाउने स्पष्ट गरे ।
धरानको सर्वाङगिण विकासको लागि नगरसभा पछि धरानमा रहेका सम्पूर्ण दल लगायत मेयर उपमेयर लगायत जनप्रतिनिधि मिलेर जानुपर्ने उनको भनाई थियो ।
ध्यानाकर्षण पत्रमा धार्मिक सद्भाव कायम गर्न राजनैतिक, सामाजिक, शैक्षिक एवं धार्मिक रूपमा सद्भाव कायम गर्दै भाइचारा, भ्रातृत्व र विकास निर्माणको उदाहरण बन्न मेयर साम्पाङलाई आग्रह गरिएको छ ।
राष्ट्रिय गौरवको योजनामा रहेको जोगबनी-किमाथाङ्का राजमार्गलाई धरानबाट निकासा दिन सम्बन्धित निकायहरूमा आवश्यक पहल कदमी गरी चाँडै निकास दिन माग गरिएको छ ।
धरानमा रहेका खोलाहरूमा तटबन्ध निर्माण गरी जनधनको क्षति हुनबाट जोगाउन आवश्यक रहेकोले मसाने, अधेरी, शेरा, सर्दु, सेउती र खहरे खोलाहरूमा तटबन्ध सहित कोरिडोर निर्माण गर्न माग गरिएको छ ।
यस्तै ध्यानाकर्षण-पत्रमा भनिएको छ, धरानमा ‘वान वे’ लागु भएपछि वडा १, २, ३ मा रहेको सडकलाई मर्मत तथा पुनर्निर्माण गर्न माग गरिएको छ । धरान-३ स्थित सपिङ मललाई स्तरोन्नति गरी आयआर्जन गर्ने गरी सञ्चालन गरियोस् ।
धरान-८ स्थित सभागृहलाई मर्मत सम्भार गरी सञ्चालन गरियोस् । धरान-९ को खेलकुद भवन कभर्ड हल जीर्ण अवस्थामा रहेकोले मर्मत सम्भार गरियोस् । धरान-१ स्थित पुरानो अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरसभाबाट आवश्यक बजेट, नीति नियम पारित गरी नगर अस्पतालको रूपमा सञ्चालन गरियोस् ।
धरानको कृषि क्षेत्र वडा ४, ५, ६, १७ र २० लाई सम्भाव्यता अध्ययन गरी अनुदान वितरण गरियोस् । खेलकुदको सहरको रूपमा परिचित धरानमा रात्रिकालीन समयमा पनि खेल्न सकिने गरी फ्लडलाईट व्यवस्था र धरान रङ्गशालामा स्टेज निर्माणका लागि बजेट विनियोजन गरियोस् ।
धार्मिक तथा सांस्कृतिक सहरको रूपमा चिनिएको धरानलाई बाह्य तथा आन्तरिक पर्यटकहरूको आकर्षक केन्द्रको रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार र बजेटको विनियोजन गरियोस् । विद्युतीय सावरीको चार्जिङ स्टेसन स्थापना गरियोस् भन्ने माग लगायत छन् ।