धरान : छोरीसँग प्रेमको नाटक गरेर ललाई फकाई वृद्ध आमाको सम्पत्ति ठगी गरेको आरोप लागेका धरान-१६ निवासी राम प्रसाद राई पक्राउ परेका छन् ।

राईलाई बुधवार इटहरीको पश्चिम लाइनमा रहेको एक कफी सपबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।

फरार रहेका ठगी आरोपित राईलाई आज म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । राई गत जेठ २१ गतेदेखि मोबाइल अफ गरेर बेपत्ता भएका थिए ।

धरान-१५ निवासी रेखा लिम्बु (नाम परिवर्तन) सँग सम्पत्ति हडप्ने नियतले झुटो प्रेम जालमा फसाएर ७३ बर्सिया वृद्धा आमाको नाममा रहेको ८ कट्ठा २ धुर जग्गा आफ्नो नाममा पास गरेको आरोप लगाउँदै पीडित परिवारले ठगी मुद्दा दर्ता गराएका थिए ।

घर बनाउने ठेक्का पट्टा गर्ने रामप्रसाद २०७३ सालमा धरान-१५ एभरेष्ट लाइनकी हर्कमाया लिम्बूनीको घर निर्माण गर्न पुगेका थिए । हाल ७३ वर्षीय लिम्बूनी कान्छी छोरीसँग बस्थिन् । घर बनाउने ठेक्काको काममा आउजाउ बढेपछि कान्छी छोरीसँग रामप्रसाद नजिकिएका थिए ।

राईले करिब ८ वर्ष प्रेम सम्बन्ध राखेपछि ललाई फकाई 'हुनेवाला ज्वाइँ हुँ' भन्दै वृद्धा आमासँग पनि नजिक भएर मोरङ साबिक दुलारी ४ (ख) कित्ता नम्बर ७७९ को ८ कट्ठा २ धुर जग्गा पास गराई मागेका थिए । उक्त जग्गा २०७५ मङ्सिर २९ गते रजिष्ट्रेशन पास गराएपछि रामप्रसाद बेपत्ता भएका थिए ।