धरान : धरान-१६ बस्ने रामप्रसाद राईले धरान-१५ रेखा लिम्बु (नाम परिवर्तन) सँग सम्पत्ति हडप्ने नियतले झुटो प्रेम जालमा फसाएर ७३ वर्षिया वृद्धा आमाको नाममा रहेको ८ कट्ठा २ धुर जग्गा आफ्नो नाममा पास गरेको आरोप पीडित पक्षले लगाएका छन् ।

घर बनाउने ठेक्का पट्टा गर्ने रामप्रसाद २०७३ सालमा धरान-१५ एभरेष्ट लाइनकी हर्कमाया लिम्बूनीको घर निर्माण गर्न पुगेका थिए । हाल ७३ वर्षीय लिम्बूनी कान्छी छोरीसँग बस्थिन् । घर बनाउने ठेक्काको काममा आउजाउ बढेपछि कान्छी छोरीसँग रामप्रसाद नजिकिए ।

लिम्बुनिको जेठी छोरी चन्द्रा लिम्बूले शुक्रवार पत्रकार सम्मेलनमा भनिन् ‘आउनु जानु गर्दा बहिनीसँग नजिक भएछन् ।’ राईले बहिनीसँग करिब ८ वर्ष प्रेम सम्बन्ध राखेपछि ललाई फकाई 'हुनेवाला ज्वाइँ हुँ' भन्दै वृद्धा आमा पनि नजिक भएको आफूलाई पछि मात्र थाहा भएको दिदी चन्द्रा लिम्बुले बताइन् ।

उनका अनुसार आमाले पनि रामप्रसाद राईलाई कान्छो छोरो समेत भन्न थालेकी थिइन । बहिनीलाई श्रीमतीको रूपमा लिन्थे । चन्द्रा लिम्बुले मोरङ साबिक दुलारी ४ (ख) कित्ता नम्बर ७७९ को ८ कट्ठा २ धुर जग्गा आमालाई बकस पास गरी दिएकी थिइन् ।

उक्त जग्गा रामप्रसादले बहिनी र आमालाई ललाई फकाई २०७५ मङ्सिर २९ गते रजिष्ट्रेशन पास गराएपछि रामप्रसाद बेपत्ता भए ।

चन्द्राले भनिन् ‘जग्गा बैङ्कमा दृष्टि बन्धक धितो राखी कर्जा रकम निकाल्न भनेर घरको ज्वाइँ भन्दै ललाई फकाई गरेर जग्गा रजिष्ट्रेशन पास गराएछन् ।’ उनका अनुसार सबै जग्गा पास गरेको भन्ने कुरा परिवारका सदस्यलाई थाहा थिएन ।

जग्गा आफ्नो नाममा पारेपछि रामप्रसाद बहिनीसँग टाढिन थालेको चन्द्राको भनाई छ । चन्द्राले भनिन्, ‘मेरो बहिनीले जग्गा दिएपछि अहिले रामप्रसादले फोन पनि गर्दैन र फोन गर्दा पनि उठाउँदैन भनी विदेशमा रहेको मलाई म्यासेज गरेपछि थाहा भयो ।’

रामप्रसाद सम्पर्कमै नआएपछि मानसिक तनावका कारणले बहिनीलाई अचानक २०७६ असारमा प्यारालाइसिस भएको पत्रकार सम्मेलनमा चन्द्राले बताइन् ।

श्रीमती होस भनी जबरजस्ती करणीको अपराध समेत गरेको हुँदा सोही कारण आफ्नी बहिनी मानसिक रूपमा विक्षिप्त भई प्यारालाइसिस भएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ।

प्यारालाइसिस भएपछि रामप्रसादले नै उपचार गराउन हेलिकप्टर मार्फत काठमाण्डौं लगेका थिए । ‘उपचार भइरहेको समयमा रामप्रसादको मोबाइल हेर्दा अर्कै केटीसँग कुरा गरेको थाहा भएको चन्द्राले बताइन् ।

उनले भनिन् ‘हामीले बहिनी यस्तो अवस्थामा छ, तपाई अरू केटीसँग कुराकानी गर्नुहुन्छ भनेर कराएपछि भने उनी भने टाढिए ।’ चन्द्राले रामले सम्पत्ति हडप्न बहिनीको जीवन माथि खेलबाड गरेको आरोप लगाइन् ।

पछिल्लो समय उक्त जग्गा रामप्रसादले फिर्ता गर्ने लिखित सहमति पनि गरेका छन् । उनले धरान-१८ वडा कार्यालयमा जग्गा फिर्ता गर्ने लिखित सहमति गरेका हुन । सहमति पत्रमा २०८१ जेठ २१ गतेभित्र फिर्ता गरिसक्ने उल्लेख छ ।

राम प्रसादकी दिदी, श्रीमती लगायतका ५ जना साक्षी बसेका छन् । जेठ २१ गतेदेखि रामप्रसाद राई भने फोन स्विच अफ गरेर बेपत्ता रहेको विज्ञप्तिमा बताइएको छ । फोन अफ गरेर बेपत्ता हुँदा पनि परिवारका सदस्य खासै चासो नराखेको चन्द्राले बताइन ।

यस विषयमा रामप्रसाद राईसँग सम्पर्क गर्दा फोन स्विच अफ भएकाले सम्पर्क हुन सकेन । रामप्रसाद राई कोशी प्रदेश सभाका सदस्य निरन राईको सालो भएको चन्द्राको भनाई छ । उनको भनिन् ‘सांसदको पहुँचमा रामप्रसाद अहिले सम्पर्कमा नआएर उसले जग्गा फिर्ता गर्न आनाकानी गरिरहेको छ ।’

Ramprasad-rai-dharan