झापा : झापाको गौरीगञ्ज-१ मा स्थानीय सानो कमल खोलाले बगाएर बेपत्ता भएका लखिराम मुर्मुको शव भेटिएको छ ।

आज शुक्रवार बिहान करिब ७ बजे उनी बगेको ठाउँबाट करिब ५०० मिटर नजिकै खोला किनारमा तैरिरहेको अवस्थामा भेटिएको हो ।

बिहीबार दिउँसो करिब ३ बजेदेखि बेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय बासीहरू हिजो देखिनै सक्रिय भएर लागेका थिए ।

बिहान उनको शव भेटिएपछि स्थानीय प्रहरी चौकी कुञ्जीबारीबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । मुर्मुको लास पोस्टमार्टमका लागि पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही वडाको कमल बनियानी खोलाले बुधवार दिउँसो बगाएका १२ वर्षीय मिलन बिकको भने अवस्था अझै अज्ञात छ । उनको खोजी जारी राखिएको भएपनि सो खोलामा पानीको सतह बढ्ने क्रममा रहेको र बेग समेत बढी भएकाले फेला पार्न मुस्किल परिरहेको हुन सक्ने अनुमान छ ।