धरान : संस्थाको भवन परिसरको कम्पाउन्ड वाललाई सदुपयोग गर्दै दिवगत आफन्तजनको स्मृतिमा शिलालेख स:शुल्क राख्न दिएर किरात याक्थुङ चुम्लुङले आर्थिक श्रोत बनाएको छ ।

चुम्लुङका धरान उपमहानगर अध्यक्ष तीर्थ मादेम्बाले शनिवार आफ्ना दिवङ्गत पिता माताको शिलापत्रको औपचारिक अनावरण कार्यक्रम आयोजना गरी उक्त जानकारी दिएका हुन ।

अध्यक्ष मादेम्बाले स्वर्गीय पिता खड्गबहादुर मादेम्बा र स्वर्गीय माता तेजकुमारी तुम्बाहाङफेको स्मृतिमा चुम्लुङ हिमको कम्पाउन्ड वालको भित्रपट्टिको एक स्थानमा शिलापत्र स्थापित गरेका हुन ।

शिलापत्रको अनावरण धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघाले गरेका थिए । उनले दिवङ्गतको स्मृतिमा सम्मान स्वरूप गरिने कार्यबाट संस्थालाई आर्थिक सहयोग जुट्ने र परिवार आफन्तजनलाई कर्तव्य बोध हुने दोहोरो उद्देश्यपूर्ण भएको बताए ।

चुम्लुङ हिमको कम्पाउन्ड वालमा सामान्य खर्चमा दिवङ्गत अग्रजका शिलापत्र राख्न हिमको संरक्षक सदस्यता शुल्क स्वरूप ३० हजार रुपैयाँ बुझाउनु पर्दछ । सदस्यले चाहेमा शिलापत्र लेखाउने र राख्ने कार्य आफ्नै खर्चमा गर्नु पर्दछ ।

हिमका अध्यक्ष मोहन हुक्पाचोङका अनुसार उक्त आम्दानी भवनको भौतिक संरचनाको विकास तथा मर्मत सम्भारमा लगानी गरिन्छ । हिम निर्माणकलामा आर्थिक अभाव भएपछि सहयोग सङ्कलनका लागि २५ हजार रुपैयाँमा संरक्षक सदस्यता प्रदान गर्न थालिएको थियो।

परम्परागत रूपमा दिवङ्गत अग्रज परिवारजनको स्मृतिमा मानिस हिँड्ने बाटोमा पाटी, पौवा, चौतारा बनाएर शिलापत्र राख्ने प्रचलन थियो । यातायातको विकासले उक्त प्रचलन हरायो । अहिले सार्वजनिक स्थलमा निजी उद्देश्यका ससाना स्मृति चिन्हका लागि कुनै भौतिक निर्माण कार्य सुरक्षाको दृष्टिले पनि गर्न नसकिने अवस्था छ ।

चुम्लुङले कम्पाउन्ड वाललाई सदुपयोग गरेर आफन्तजनलाई उपलब्ध गराएको सुविधाले ठुला निर्माण कार्य बाहेक आफ्ना मान्यजनको स्मृतिमा ससाना स्मृतिजन्य भौतिक कार्य गर्न चाहनेहरूलाई सहज बनाएको उक्त अवसरमा चुम्लुङ सल्लाहकार हर्ष सुब्बाले बताए ।

chumlung-him-KapuriNews