इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधी जिल्ला भ्रमणको क्रममा सुनसरी पुगेका छन् । पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण सकेर आइतबार निधी पार्टी कार्यालय सुनसरी पुगेका हुन् । 
गिरिजा प्रसाद कोइरालाको १०१ औँ जन्म जयन्तीको अवसरमा सुनसरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रूपमा सहभागी भएका उनलाई कार्यकर्ताले पार्टी व्यवस्थापनको विषयमा प्रश्न गरेका छन् । नेपाली काँग्रेस पार्टीको सिद्धान्त र कार्यक्रम बिचको तारतम्य नमिलेको भन्दै कार्यकर्ताले संशय व्यक्त गरे । 
महाधिवेशन प्रतिनिधि समेत रहेका देवानगन्ज गाउँपालिकाका परमानन्द मेहताले ‘स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा अन्तर्घात गर्नेलाई कहिले कारबाही हुन्छ’ भन्दै प्रश्न गरे । सुनसरी क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा उम्मेदवार राजीव कोइरालाको पराजयमा अन्तर्घात भएको सङ्केत गर्दै उनले पार्टीमा अनुशासन र नैतिकताको खडेरी भएको बताए । 
सुनसरीमा केन्द्रीय नेताहरू धेरै भएको तर चुनावमा बारम्बार पराजित हुनु परेको दुखेसो पोख्दै उनले बिपी कोइरालासँग सङ्गत गरेका कार्यकर्तालाई पार्टीले बेवास्ता गरेको टिप्पणी गरे । मेहताले आदिवासी जनजाति आन्दोलन र थारु आन्दोलन प्रति काँग्रेसको आधिकारिक धारणा माग गरेका छन् । 
अर्का सहभागी राजेश्वर मेहताले पनि अन्तर्घातको विषयलाई औँल्याए । पार्टी पैसा हुनेलाई मात्र टिकट दिने गरेको उल्लेख गर्दै इमानदार नेता कार्यकर्ताहरू अन्तर्घातको सिकार भएको गुनासो गरे । फोरम लोकतान्त्रिक सँगको एकताले सुनसरीमा काँग्रेस बलियो नभएको बताउँदै उनले विजय कुमार गच्छदार सँगको सहकार्यले काँग्रेस कमजोर भएको औँल्याए । 
विमला ढकालले कार्यकर्तालाई सम्मान गर्न आग्रह गरिन् । राजनीतिमा महिलामाथि अन्याय हुने गरेको बताउँदै उनले नेताको गोजी र परिवारमा मात्रै अवसरको सुगन्ध घुम्ने गरेको उनले बताइन् । 
चुनावमा कम्युनिस्ट सँग गठबन्धन गर्न नहुने बताएका कार्यकर्ताहरूले आन्तरिक एकतामा जोड दिन सुझाव दिए । अधिकांश वक्ताले भातृसंस्था भित्रको गुटबन्दी र अधिवेशनको अन्योलताको विषयमा प्रश्न गरेका थिए । 
कार्यक्रमको अन्त्यमा बोल्दै निधिले लोकतान्त्रिक पार्टी भित्र प्रतिस्पर्धा हुने र त्यसलाई गलत अर्थ लगाउन नहुने बताए । पार्टीको आन्तरिक प्रतिस्पर्धालाई अन्य पार्टीले फाइदा लिनेगरि छताछुल्ल पार्न नहुने टिप्पणी गरे । सत्ता गठबन्धन फेरबदल भइरहने बताउँदै उनले यसलाई सामान्य रूपमा लिन आग्रह गरे । 
केन्द्रीय सदस्यहरू राजीव कोइराला, राजीव ढुङ्गाना, उमेशजंग रायमाझी लगायत नेताहरूले सम्बोधन गरेका थिए । सुनसरी काँग्रेसले केन्द्रीय स्तरका नेताहरूको उपस्थितिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
congress-inarwa-KapuriNews