इटहरी : नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा असार २० गते बिहीबार इटहरी आउने भएका छन् । काँग्रेस इटहरी उपमहानगर समितिको नगर सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्न थापा इटहरी आउन लागेका हुन् ।

यसअघि सुनसरीको धरान उपमहानगर सम्मेलनमा आएका उनी इटहरीमा समेत प्रमुख अतिथिको रूपमा आउन लागेका छन् । गिरिजा प्रसाद कोइरालाको जन्म जयन्तीको अवसर पारेर इटहरी काँग्रेसले विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।

१८ गते कोइरालाको जन्मोत्सवको दिन वृक्षारोपण गर्ने बताएका नगर उपसभापति बालकृष्ण विष्टले २० गते नगर सम्मेलन गर्ने बताए । सोही दिन खुल्ला सत्र र बन्द सत्र दुवै हुने भएकाले तोकिएको समयमै कार्यक्रम सुरु हुने जानकारी दिए । इटहरी उद्योग वाणिज्य सङ्घको सभा हलमा हुने कार्यक्रम दिउँसो ११ बजे उद्घाटन हुने उनको भनाइ छ ।

कार्यक्रम संयोजक समेत रहेका विष्टले २२ गते कार्यकर्ता प्रशिक्षण आयोजना हुने बताए । उनका अनुसार सोही हलमा हुने कार्यक्रमको प्रमुख प्रशिक्षकमा केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी सङ्घका पूर्व सभापति कल्याण गुरुङ आउने भएका छन् ।

काँग्रेसलाई वडा स्तर देखिनै चलायमान बनाउन इटहरी उपमहानगर समिति लागि परेको उनले प्रष्ट पारे ।