धनकुटा : सङ्घीय सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा धनकुटाको विकाशको लागि करिब ८ अर्ब बजेट विनियोजन गरेको छ। सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानी सहित विभिन्न मन्त्रालयबाट धनकुटाको लागि ७ अर्ब ९५ करोड ५ लाख बजेट विनियोजन भएको बताएका हुन् ।

उनका अनुसार बजेटमा खानेपानी मन्त्रालयबाट मात्र धनकुटामा २ अर्ब ५० करोड बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २ अर्ब १० करोड र सहरी विकास मन्त्रालयबाट १ अर्ब ५ करोड बजेट विनियोजन भएको छ ।

अन्य मन्त्रालयबाट पनि नियमित आउने भन्दा धेरै बजेट धनकुटामा आएको छ । खानेपानी मन्त्रालयबाट सहिद भूमि वृहत् खानेपानी आयोजनाका लागि ७ करोड बजेट विनियोजन भएको छ । अ?ण नदीबाट लिफ्टीङ प्रविधिमार्फत घुमाउने डाँडामा पानी ल्याएर सहिदभूमिका सात वटै वडामा वितरण गर्ने योजना छ ।

सोमवार प्रेस चौतारी धनकुटाको पत्रकार भेटघाटमा मन्त्रीले छथर जोरपाटी वृहत् खानेपानी आयोजनामा ९ करोड, धनकुटाको खानेपानी व्यवस्थापनमा ७ करोड, महालक्ष्मी वृहत् लिफ्टिङमा ६ करोड र पाख्रीवास खानेपानीमा ३ करोड बजेट विनियोजन भएको बताए । खानेपानीका ५० वटा आयोजनामा २ अर्ब ५० करोड बजेट विनियोजन भएको छ ।

भौतिक पूर्वाधारबाट १५ वटा सडक र ४ पक्की पुल, सिधुवा जितपुर लेगुवा हुँदै भोजपुर जोड्ने सडक कालोपत्रे, पाख्रीवास-मुगा-घोडेटार जोड्ने सडक कालोपत्रेमा बजेट विनियोजन भएको छ ।

तमोर नदीमा ३ पक्की पुल, अरुण नदीमा पक्की पुल, साँगुरीगढी र सहिदभूमिको चिम्राहाघाट, पाख्रीवास र पौवादुम्वाको सीमास्थित अधेरीघाट, सहिद भूमि र साँगुरीगढीको सीमास्थित सफाइटार र धनकुटा नगरको छिम्सुवा र साँगुरीगढीको उखुवारी जोड्ने पक्की पुलमा बजेट विनियोजन भएको छ ।