धरान : धरान-१४ दुई धारे दक्षिण स्थित नरसिंह मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रकरण सम्बन्धी छानबिन समितिले प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गर्न दाबी गरेका ३ वटै पक्षहरूको प्रमाण नपुगेको ठहर भएको उल्लेख भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । उनले भने ‘जग्गा दाबी गर्ने मन्दिर समिति र नक्कली जग्गा धनी भनिएका २ जना लाल बहादुर मगर सहितको जग्गाधनीहरूको प्रमाण नपुग्ने प्रतिवेदन प्राप्त भएको छ ।’

मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गर्न मालपोत कार्यालयमा निवेदन परेको कुरा ‘कपुरी न्युज’ले सार्वजनिक गरेको थियो । सार्वजनिक तथा धार्मिक संस्थाको सम्पत्ति व्यक्तिको नाममा दर्ता हुन लागेपछि उक्त प्रकरण चौतर्फी चासोको विषय बनेको थियो ।

उक्त विषयमा जिल्ला प्रशासन कार्यालयले छानबिन गर्न २ महिना अघि समिति गठन गरेको थियो । एक साताको समय दिए पनि प्रतिवेदन बुझाउन दुई महिना लगाएको समितिले असार १० गते प्रमुख जिल्ला अधिकारी तिवारीलाई प्रतिवेदन बुझाएको हो ।

छानबिन समितिका संयोजक इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरेले समितिले दिएको निर्धारित समयमै प्रतिवेदन बुझाएको बताए । उनका अनुसार लालबहादुर मगर भनिएका २ जना  र मन्दिर समिति ३ वटै समूहको हाकभोग सिद्ध गर्ने डकुमेन्ट नपुग्ने देखिएको छ ।

घिमिरेले भने ‘स्वामित्व विवादमा पर्ने  देखिएको छ ।’ समितिले अदालतको न्यायिक निरूपण निकायको ढोका ढकढक्याउन आग्रह गर्ने गरी प्रतिवेदनमा सुझाव दिएको उनको भनाई छ ।

धरान-१४ दुई धारे दक्षिण स्थित उक्त मन्दिरलाई आचार्य परिवारले दानमा दिएको हाल धरान ६ पानबारीमा ७ कट्ठा ११ धुर जग्गा छ । उक्त जग्गा हडप्न दलालहरूले फर्जी कागजात बनाएको  समाचार प्रकाशित भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले जेठ ३ गते छानबिन समिति गठन गरेको थियो ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिमा धरान उपमहानगरका इन्जिनियर र नापी कार्यालय धरानका प्रमुख पूर्ण कुमार मुखिया रहेका थिए ।

मालपोत कार्यालय प्रतिनिधि तथा प्रमुख छानबिन समितिलाई प्रतिवेदन बुझाउन ७ दिनको समय दिइएको थियो । त्यो समय सकेर १५ दिन थप गर्दा समेत समितिले छानबिनको कामलाई पूर्णता दिन नसकेपछि थप २५ दिनको समय सीमा पाएको थियो ।