धरान : काँग्रेसका केन्द्रीय सदस्य पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले काँग्रेसको राजनीतिमा गुटफुटको अन्त्य गर्न तेस्रो धारको नेतृत्व गर्न आफू अग्रसर भएको बताएका छन् ।

उनले भने ‘म शेरबहादुर पक्षको पनि होइन र शेखर कोइराला पक्षको पनि होइन ।’ काँग्रेसलाई गुटफुटको राजनीतिबाट कसरी मुक्त गरेर एकजुट बनाउन सकिन्छ भन्ने पक्षमा आफू रहेको कोइरालाको भनाई थियो ।

स्वर्गिय गिरिजाप्रसाद कोइराला शताब्दी वर्ष जन्म जयन्तीको अवसरमा धरानमा आयोजित लेखक/सङ्कलक गिरिराज आचार्यको ‘जनमत सङ्ग्रह दर्पण’ पुस्तक दोस्रो संस्करणको विमोचन कार्यक्रममा उनले काँग्रेसमा तेस्रो धारको नेतृत्व गर्ने सङ्केत दिएका हुन ।  

वीपी पुत्र शशाङ्कले काँग्रेसलाई एकताबद्ध बनाउन आउँदो महाधिवेशनमा पार्टी सभापतिमा पनि उठ्न सकिने बताए । उनले आफू लामो कुरा गर्न नजान्ने बताउँदै भने ‘जति कुरा भन्छु सबैले बुझ्ने गरी सत्य कुरा बोल्छु ।’

उनले काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको सत्ता साझेदारीको सम्झौताको विस्तृत जानकारी नभए तापनि 'सरकार चलाउन मिल्नु' राम्रो कुरा भएको बताए ।

डा.शशाङ्कले ‘राष्ट्रिय सहमतिको सरकार’प्रति असहमतिको सङ्केत गर्दै भने ‘तर प्रतिपक्षलाई पनि बलियो बन्न दिनु पर्छ ।’ प्रमुख दलहरू सत्तामा जाँदा प्रतिपक्ष कमजोर भएमा लोकतान्त्रिक पद्धतिमा खतरा उत्पन्न हुने उनले बताए ।

काँग्रेसमा तेस्रो धारको कुरालाई अघि बढाउन देशभर घुम्ने काँग्रेस पूर्व केन्द्रीय सदस्य महेश आचार्यको भनाइलाई समर्थन गर्दै डा.शशाङ्कले भने ‘महेश जीले राम्रो कुरा गर्नु भयो, मलाई त उहाँ विराटनगरमै थन्किएर बस्नु होला लागेको थियो ।’

यसअघि पूर्व केन्द्रीय सदस्य आचार्यले नेपाली काँग्रेसलाई पटक पटक धोखा दिएका कम्युनिस्ट सँग मिलेर सत्ताको राजनीति गर्ने गलत नीतिको विरोधमा एक्लै भए पनि काँग्रेस कार्यकर्ता बिच जनमत सिर्जना गर्न जिल्ला भ्रमण गर्ने बताएका थिए ।

उनले भने ‘देशको राजनीतिमा संविधान संशोधन समेतको नयाँ कुरा आएको छ तर कांग्रेसजनलाई यो कसरी आएको हो कुरा थाहा छैन ।’ संविधान संशोधनको संवैधानिक व्यवस्थाका बारेमा जानकारी नै नभएको जस्तै ढङ्गमा संशोधनको कुरा आएको उनले बताए । 

काँग्रेसका युगान्तकारी नेता गिरिजा बाबुसँग सहमति भएको कुरामा धोखा दिएको माओवादीसँग गठबन्धन गर्दा पुनः धोखा पाएको काँग्रेसले फेरी अर्को धोखा खाने बाटो अपनाउनु गलत भएको आचार्यको भनाई थियो ।

उनले भने ‘ऐतिहासिक परिवर्तनहरूमा गिरिजाबाबुसँग नजिक बसेर निर्णायक कार्य गरेको अनुभव सुनाउन म एक्ले भए पनि देश दौडाहामा निस्कन्छु ।’