धरान : इलाका प्रहरी कार्यालयमा हाफपेन्ट लगाएर प्रवेश गर्न नपाउनु कति उचित ? धरानमा बुधवार जिल्ला प्रहरीको नागरिक सुनवाइमा महिला सञ्जाल धरानकी अध्यक्ष सपना राईले प्रश्न गरिन् ।

प्रश्न सामान्य लागेपनि फेशनको शहर धरानका मानिसले लाउने पोशाक नागरिक स्वतन्त्रतामा बाधक छ भन्ने अर्को प्रश्न उठाउने खालको थियो ।

उनले वडा १३ मा सर्दु जलाधार सिमाङ्कन नगर्दा जनता धेरै मर्कामा परेकाले यथाशीघ्र सिमाङ्कन बाहिरका जग्गा फुकवा गर्न मेयर हर्क सामपाङसंग आग्रह पनि गरिन् ।

नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेलले सुनसरी जिल्लामा कहाँकहाँ प्रहरी कार्यालय छन् ? छन् भने ती प्रहरी चौकीहरू छलेर धरानमा कहाँबाट कसरी लागुऔषध भित्रन्छ ? प्रश्न गरे । धरानलाई लागुऔषधमा बदनाम गराउन प्रहरीको सतर्कताको अभाव पनि जिम्मेवार छ भन्ने उनको आशय थियो ।

धरान-१३ का कुलबहादुर मगरले प्रश्न गरे, कोशी प्रदेश सरकारको बजेटबाट बनेको ग्याविन मेयर साम्पाङले भत्काएको जानकारी गराउँदै मेयरलाई कानुन लाग्छ कि लाग्दैन ?

उनको अर्को प्रश्न थियो, प्रहरीको बोलिबच्चन राम्रो नभएको, कुनै घटनामा बोलाउँदा १ घण्टा पछि आउने प्रहरीले शान्ति सुरक्षा कसरी दिन सक्ला ?

वडा १३ कै पदम श्रेष्ठले सार्वजनिक सम्पत्ति भत्काउने मेयरलाई कानुनी दायरामा कहिले ल्याउने ? भन्दै प्रश्न गरे । उनले मेयर साम्पाङले सर्दु जलाधारको जग्गा फुकुवा गर्न पहल नगरेकाले जनता मारमा परेको गुनासो सुनाए ।

पत्रकार मनिता चाम्लिङले प्रश्न गरिन्, वडा १५ की जनप्रतिनिधि दलित सदस्यले बालविवाह गराई बुहारीलाई घरबाट खेदाएर मिटरव्याजी ससुराले झुक्क्याएर हस्ताक्षर गराई अंशबाट वञ्चित गराएकोमा प्रहरी, प्रशासनले के कारबाही गर्दै छ ?

सुनवाइमा धेरै प्रश्न गरिए । सार्वजनिक सुनवाइ, नागरिक सुनवाइहरूमा कतिपय गम्भीर कुराहरू पनि उठ्ने गर्दछ । तर सहभागीलाई आक्रोश पोख्ने अवसर बाहेक सुनवाइ गरिने माध्यम बन्ने गरेको पाइन्न ।

जिम्मेवार अधिकारीले सुन्ने जनताले भन्ने नागरिक सुनवाइ धरानमा जिल्ला प्रहरीले पहिलो पटक आयोजना गरेको हो । सुनवाइ पहिले जस्तै औपचारिकतामा सीमित हुने हो कि जिम्मेदार पदाधिकारीले कदम पनि चाल्ने हो मुख्य चासोको विषय बनेको छ ।

सुनवाइमा मेयर हर्क साम्पाङ, प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी उपस्थित थिए भने सभापतित्व जिल्ला प्रहरी कार्यालयका एसपी विपिन रेग्मीले गरेका थिए । इलाका प्रहरी धरानका डिएसपी मानबहादुर राई आयोजकबाटै थिए ।

उनीहरूले तत्काल प्रश्नहरूमा दिएका जवाफ सन्तोषजनक मानिए पनि त्यसलाई संवेदनशील रूपमा लिएर 'नोटिस'मा राख्छन् राख्दैनन् त्यो भोलीको काम, कारबाहीले बताउला । सबै काम उनीहरूबाट सम्भव नहुने उदाहरण मेयर साम्पाङको जवाफले प्रस्ट्याएको थियो ।

सर्दु जलाधारको सिमाङ्कनको सवालमा मेयर साम्पाङले भने 'ढिलासुस्तीका कारण सर्वोच्च अदालतले मुद्दा फैसला गर्न ढिला गरेकोले तत्काल सिमाङ्कन हुनसक्ने अवस्था छैन ।'

अदालतमा विचाराधीन मुद्दालाई जनप्रतिनिधिले अवज्ञा गर्न नमिल्ने उनको भनाई छ । उनले भने, 'मुद्दाका कारण धरान'१३ का जनताले पाएको सास्तीप्रति दुखी छु ।'

मेयर साम्पाङले १३ वडा अध्यक्ष नेत्र काफलेतर्फ सङ्केत गर्दै जग्गाको बेचबिखन गर्न वडा अध्यक्षले ग्याविन लगाउने बहानामा बाटो निकालेर जग्गाको मूल्य बढाउन खोजेको बताए ।

मेयर साम्पाङको उक्त भनाई प्रति सुनवाइमा आएका वडा १३ का सहभागीले होहल्ला गर्दा निकै बेर सुनवाइ अवरुद्ध भएको थियो ।

प्रजिअ रामचन्द्र तिवारीले नारा जुलुस मात्र गरेर समाज सुधार नहुने बताउँदै समाज बचाउन विधिको पालना गर्न सबैको दायित्व भएको बताए । मिटरव्याजिहरूलाई कानुनतः कारबाही गर्ने उनले प्रतिबद्धता जनाए ।

सबै प्रहरी फटाहा नभएको, ईमान्दार पनि भएको बताउँदै प्रजिअ तिवारीले भने, 'प्रहरीले गलत गरेमा कोड गरेर कम्प्लेन गरे तुरुन्त कारबाही हुन्छ ।' जिल्ला प्रहरी कार्यालयका एसपी विपिन रेग्मीले कानुन मान्दिन र जान्दिन भन्न नपाउने बताए । उनले भने, 'कानुन सबैलाई लाग्छ ।'

Nagarik Sunwai dharan 081-03-20 2nd

Nagarik Sunwai dharan 081-03-20 3rd

Nagarik Sunwai dharan 081-03-20 4th