धरान : धरानमा गएको १ वर्षको अवधिमा १८ वटा बलात्कारका मुद्दा इलाका प्रहरी कार्यालयमा दर्ता भएका छन् । मुद्दा मात्र हो कि बलात्कार भएकै हो भन्ने कुरा पुष्टि हुने तथ्याङ्क भने उपलब्ध छैन ।

डिएसपी मानबहादुर राईले बुधवार धरानमा आयोजित नागरिक सुनवाइमा प्रस्तुत गरेको विवरणमा २०८० वैशाख देखि हालसम्म १५ महिनामा सबै भन्दा बढी अभद्र व्यवहारका १४६ वटा मुद्दा दर्ता भएका छन् ।

उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ को अवधिमा इलाका प्रहरीमा कुल ५७२ मुद्दा दर्ता भएका छन् । प्रहरीमा पुगेर छलफल गरी मिलापत्रमा टुङ्गिएका मुद्दा बाहेकको उक्त सङ्ख्या हो ।

बढ्दो सहरीकरणसँगै धरानमा अपराध नियन्त्रण र शान्ति सुरक्षाको चुनौती बढेको बताउँदै उनले त्यस मध्ये ३९२ मुद्दा फछौट भएको जानकारी दिए । डिएसपी राईले भने, 'अनुसन्धानका क्रममा रहेका १८० मुद्दा कारबाहीको क्रममा छन् ।'

धरानमा आर्थिक अपराध पनि बढेको प्रहरीको विवरणमा देखिन्छ । यो अवधिमा बैङ्किङ कसुरका ८१ मुद्दा इलाका प्रहरीमा दर्ता भएका छन् । लागुऔषधको मुद्दा धरानको रोग नै हो, यो वर्ष ९० वटा लागुऔषधको मुद्दा प्रहरीले दर्ता गरेको छ ।

पछिल्लो समय धरानमा ज्यान मार्ने किसिमका घटनाहरू पनि धरानमा बढेको छ । इलाका प्रहरीमा यो वर्ष ५ वटा कर्तव्य ज्यान, २९ वटा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएका छन् ।

यसैगरी २०८०/०८१को मुद्दा विवरणमा विष सेवन आत्महत्या २९, बालबालिका कसुर १, ठगी २५, भवितव्य ज्यान २६, बहुविवाह ८ गरी जम्मा ५७२ वटा मुद्दा दर्ता भएका हुन् ।

राजश्व छलेर व्यापारिक सामग्री भित्र्याउने भ्रष्टाचारका संलग्न ६ टिपर, ९ ट्रक, २ ट्याक्टर १२ पिकअप नियन्त्रणमा लिएर इलाका प्रहरीले राजश्व असुलीमा सघाउ पुराएको छ ।

मुद्दा बढेसँगै इलाका प्रहरीले राजश्वमा योगदान पनि बढाएको छ । सूचकाङ्कका आधारमा इलाका प्रहरीले कुल २ करोड २१ लाख २२ हजार ५८३ राजश्व सङ्कलन योगदान गरेको छ ।

राजश्व तथा भन्सार छलीका सामान सहिद बरामद भएका समानहरूमा भिसीटिएस नभई राजश्व बुझाएको सामानहरूबाट ५ करोड २१ लाख २२ हजार ८सय ५७ राजश्व दाखिला भएको छ ।

प्रहरीद्वारा बरामद समानहरू चाँदी-सुन बाट ३ लाख ८४ हजार ८७०, किराना सामाग्रीबाट ७५ लाख ७१ हजार,६१७, सामाग्री ढुवानी गर्ने सवारी साधनबाट ९७ लाख, भाँडाकुँडा ३ लाख, लत्ता कपडाबाट ५लाख ६८ हजार ४७२, मदिरा तथा सुर्तीजन्यबाट ४८ हजार ५ सय, रिचार्जकार्ड २५ लाख ५० हजार, अन्य सामाग्रीहरूबाट ६६ लाख ९७ हजार ७५३ राजश्व दाखिला भएको छ  ।